
धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासमा बसेको बैठकले अदालती काम, कारबाही र न्यायिक सुशासनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन जोड दिइएको छ । उच्च न्याय क्षेत्र समन्वय समितिको बैठकले यस क्षेत्रमा रहेका चुनौतीहरूको समाधान गर्दै न्यायिक सुशासन कायम गर्न जोड दिएको हो ।
बैठकले उच्च अदालत विराटनगर धनकुटा इजलासको क्षेत्राधिकारभित्र पर्ने अदालत, अर्धन्यायिक निकाय तथा सुरक्षा निकायहरूसँग कानुनी विषयवस्तु, समस्या, चुनौती र समाधानका उपायहरूका बारेमा गहन छलफल गरेको छ ।
उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य न्यायाधीश एवं उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष कृष्णलाल भट्टराईले न्यायिक कार्य सम्पादनलाई प्रभावकारी बनाउन सबै पक्षले जिम्मेवारी बोधका साथ आ-आफ्नो ठाउँबाट मन, वचन र कर्मले सहयोग गर्न आग्रह गरे ।
उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका सदस्य सचिव एवं रजिस्ट्रार शोभाकर खरेलले अदालतले हालसम्म गरेका सङ्क्षिप्त प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०८२/०८३ को हालसम्म निवेदनतर्फ शतप्रतिशत र मुद्दातर्फ ९८ प्रतिशत फर्छ्यौट भइसकेको जानकारी दिए ।
अदालतका सूचना अधिकारी ललित कुमार विकका अनुसार बैठकमा धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, उच्च सरकारी वकिल कार्यालय धनकुटाका सहन्यायाधिवक्ता शारदा राउत र जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको सहभागिता थियो ।
त्यसैगरी, उच्च अदालत बार एशोसियसनका अध्यक्ष लाखमान राई तथा न्यायाधीशद्वय मिना गौतम सेढाईं र उद्धवप्रसाद भट्टराई लगायत पनि बैठकमा सहभागि थिए ।

सन्तोष सुवेदी/संगालोखबर 

















