
धनकुटा । कोशी प्रदेशमा डेंगु संक्रमण घट्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षयताको तथ्याङ्कले डेंगु संक्रमण घट्दै गएको देखाएको हो ।
स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोशीमा ४ हजार ८ सय २३ जनालाई डेंगु संक्रमण भयो । आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ८ सय ६३ जनामा डेंगु संक्रमण हुँदा २०८०/८१ म १८ हजार ६७ जनामा डेंगु संक्रमण भएको थियो ।
यसवर्ष कोशीमा तराईका तीन जिल्लामा ३ हजार ७ सय ६२ जनालाई डेंगु संक्रमण भएको निर्देशनालयले जनाएको छ । यस्तै पहाडी र हिमाली ११ जिल्लामा १ हजार ६१ जनामा डेंगु संक्रमण भयो ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी मोरङमा २ हजार ८३ र सबैभन्दा कम सोलुखुम्बु र इलाममा ४/४ जना संक्रमित भेटिएका स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।
धनकुटामा पनि डेंगु संक्रमण उल्लेखनीय रूपमा घटेको छ । जिल्लामा २०८०/८१ मा ४ सय ८३ जनालाई डेंगु संक्रमण भएकोमा २०८१/८२ मा १ सय ५६ जना संक्रमित भएका थियो । यो वर्ष ५० जनामा डेंगु संक्रमण भएको निर्देशनालयको तथ्याङ्क छ ।
यस्तै संखुवासभामा यो वर्ष ५७६, ताप्लेजुङमा ८३, ओखलढुंगामा १५, खोटाङ १२७, भोजपुरमा १०३, तेह्रथुमामा ६३, पाँचथरमा २१, झापामा ८४५, मोरङमा २ हजार ३८३, सुनसरीमा ५३४ र उदयपुरमा ८८ जनामा डेंगु संक्रमण भएको छ ।
असारदेखि मंसिरसम्म बढी डेंगु संक्रमण हुने जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए । डेंगु संक्रमण दर घटेपनि ढुक्क भएर बस्ने अवस्था भने नरहेको स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बञ्जाडेले बताइन् ।
डेंगु संक्रमण कम गर्न लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तथा हरेक शुक्रबार कार्यालय तथा सार्वजनिक स्थल सरसफाइ अभियानसमेत सञ्चालन सुरु गरिएको बञ्जाडेको भनाइ छ ।
लामखुट्टेले टोकेको ४ देखि १४ दिन भित्रमा यसको लक्षण देखिन्छ । डेंगुको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकमात्र विकल्प रहेकाले बेलैमा सचेत रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । डेंगु भएमा जिउ दुख्ने, कमजोर महसुस हुने, अत्याधिक टाउको र आखा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने जस्ता लक्षण देखिन्छन् ।
यी लक्षण देखिएमा पारासिटामोल जस्ता सामान्य औषधी घरमै प्रयोग गर्न सकिने र सामान्य औषधी प्रयोग गर्दा निको नभएमा अस्पताल जानुपर्ने चिकित्सकको भनाइ छ ।

सन्तोष सुवेदी/संगालोखबर 

















