
धनकुटा । धनकुटा बजारको हुलाक टोलमा सञ्चालित होटलहरूमा छड्के अनुगमन गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा अखाद्यवस्तु भेटिएपछि एउटा होटललाई जरिवाना गरिएको छ । जिल्ला अस्पताल नजिकै सञ्चालित काफ्ले होटलको भान्सामा सरसफाइ नभएको र पुरानो तेल प्रयोग गरि खानेकुरा बनाएको पाइएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
सात वटा होटलहरूको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न र तयारी खानेकुरा जफत गरि नष्ट गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार सेवाग्राहीको अत्याधिक गुनासो आएपछि छड्के अनुगमन गरिएको हो । होटलहरूमा मूल्यसूची नराखेको पाइएको छ । उनीहरूलाई मूल्यसूची अनिवार्य राख्न निर्देशन दिँदै अखाद्यवस्तु नबेच्न निर्देशन दिइएको छ ।
आगामी दिनमा कैफियत पाइएमा जरिवाना गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाका प्रतिनिधि सहभागी थिए ।

सन्तोष सुवेदी/संगालोखबर 



















