
विराटनगर । सुनसरीको गढी गाउँपालिका-१ बाट प्रहरीले एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आज बिहानको राति १ः२० बजेको समयमा मधेली झण्डा चोकमा पैदल हिँडिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर-१७ रानीका ५१ वर्षीय नुर महमद र विराटनगर-८ अशोक चोकका ३२ वर्षीय इमरान खान भनिने मोहम्मद अहमद छन् ।
उनीहरूलाई रोकेर चेकजाँच गर्ने क्रममा एक थान चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने म्याग्जिन १ थान र ३ राउन्ड गोली बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुवै जना पुराना आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू रहेको खुलेको छ । प्रहरीका अनुसार नुर महमदविरुद्ध २०६४ साल कात्तिक ८ गते हातहतियार तथा खरखजाना र जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएर १२ वर्ष कैद सजाय भुक्तान गरेर जेलबाट छुटेका व्यक्ति हुन् ।
त्यस्तै, इमरान खान भनिने मोहम्मद अहमदविरुद्ध पनि मिति २०७५ साल चैत १९ गते जिल्ला प्रहरी कार्यालय मोरङमै चोरी मुद्दा चलेको प्रहरी रेकर्डबाट खुलेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ । उनीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















