
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बारीमै मुला कुहिन थालेपछी कृषक चिन्तित भएका छन् । नयाँ बाली लगाउने समयसम्ममा पनि उचित बजार मूल्य नपाउँदा बारीमै मुला कुहिन थालेको हो ।
कोशी प्रदेशमै तरकारी उत्पादनको ठूलो हिस्सा ओगटेको जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परी चोक, फुत्रुङ डाँडा, गुराँसे, बोक्रे, रोटे आहाललगायत क्षेत्रका कृषकहरू व्यावसायिक मुला खेती गर्दै आएका छन् ।
लागत खर्चसमेत नउठ्ने भएपछि रासायनिक विषादी र यान्त्रिक हलोले जोतेर मुला नष्ट गर्न बाध्य हुनुपरेको स्थानीय कृषक अम्बिका भट्टराईले बताइन् । उनले प्रतिकिलो ५ देखि ६ रुपैयाँमा मुला बिक्री गर्दा ढुवानी खर्चसमेत नउठ्ने बताइन् ।
‘कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भएपछि बारीमै विषादी छर्किएर नष्ट गर्न बाध्य भएका छौँ’, उनले भनिन्, ‘लागत खर्चको त कुरा छाडौँ । यातायात खर्च समेत उठ्दैन ।’ कहिले बन्दा कोपी त कहिले मुलाले उचित मूल्य नपाउँदा लगानी समेत माया मार्नु परेको कृषक अम्बिका सुवेदीको गुनासो छ ।
‘तरकारी बिक्री नभएर हामी मारमा पर्छौ’, उनले भनिन्, ‘स्थानीय सरकारले समेत चासो नदेखाउँदा कृषक समस्यामा छन् ।’ पाँच रुपैयाँ किलोमा बेच्दा मल, बीउ, विषादी, बारी तयारी र खेतालाको खर्चसमेत नउठ्ने उनले बताइन् ।
प्रतिकिलो २० देखि २५ रुपैयाँमा बिक्री हुँदै आएको मुलाको भाउ एकै पटक ५ रुपैयाँमा झरेपछि समस्या भएको उनको भनाइ छ । मुलाले उचित मूल्य नपाउँदा यस क्षेत्रका करिब ३ हजार घरपरिवार बढी किसान प्रभावित भएका गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।
‘म आफू स्वयंले पनि व्यावसायिक रूपमा करिब २० रोपनी क्षेत्रफलमा लगाएको मूला बारीमै कुहिएर नष्ट गर्नुपरेको छ’, उनले भने, ‘किसानको उत्पादन बिक्री हुने सुनिश्चितता संघ र प्रदेश सरकारले गर्नुपर्छ ।’
बजार नियन्त्रण गर्ने अधिकार स्थानीय तहसँग नभएकाले किसानलाई राहत दिन नसकेको उनले बताए । ‘उत्पादन बढायौँ, तर बजार हाम्रो नियन्त्रणमा नभएपछि किसानको उत्पादन बिक्री हुने सुनिश्चितता संघ र प्रदेश सरकारले पनि गर्नुपर्छ’, उनले थपे ।
यो वर्ष मुलाले उचित मुल्य नपाउँदा यस क्षेत्रका किसानले करिब दुई करोड बढीको आर्थिक क्षति ब्यहोर्नु परेको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । किसानहरूले यतिबेला मुला हटाएर बन्दाकोपी र काउली लगाउने तयारी गरिरहेको छन् ।

सन्तोष सुवेदी/संगालोखबर 

















