
विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षा प्रतिष्ठानमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवन कुमारले सेवा सुरु गरेका छन् ।
अस्पतालले मुटुको उपचार सेवालाई थप उत्कृष्ट र सर्वसुलभ बनाउने उद्देश्यले उनलाई वरिष्ठ परामर्शदाता एवं इन्टरभेन्सनल कार्डियोलोजिस्टका रूपमा भित्र्याएको हो ।
२२ वर्षभन्दा लामो समयको अनुभव समालेका डा. कुमारले चिकित्सा क्षेत्रमा एक विशिष्ट पहिचान बनाएका छन् । उनले भारतको चेन्नाईस्थित प्रतिष्ठित एपोलो हस्पिटलबाट डिएनबी (कार्डियोलोजी) गरेका हुन् ।
यसअघि उनले चेन्नाईकै एपोलो हस्पिटल र फोर्टिस मलर हस्पिटलमा वरिष्ठ परामर्शदाताका रूपमा सेवा प्रदान गरिसकेका छन् । उनको नाममा १६ हजारभन्दा बढी सफल एन्जियोग्राफी र ६ हजारभन्दा बढी सफल एन्जियोप्लाष्टी गरेको रेकर्ड छ ।

मुटु रोगको उपचारमा उच्च दक्षता भएका डा. कुमारले जीवन विकास अस्पतालमा कोरोनरी एन्जियोग्राम, पेरिफेरल एन्जियोग्राम, कोरोनरी एन्जियोप्लाष्टी, प्राइमरी पिसिआई र रेस्क्यु पिसिआई, कम्प्लेक्स एन्जियोप्लाष्टी, र असिस्टेड एन्जियोप्लाष्टी सेवा दिनेछन् ।
यसका साथै एड्भान्स्ड हार्ट फेलियर ट्रिटमेन्ट, इन्डोमायोकार्डियल बायोप्सी, आर्टिफिसियल हार्ट ट्रान्सप्लान्टका लागि एसेसमेन्ट, पेसमेकर इम्प्लान्टेसन र एएसडी, भिएसडी तथा पिडिएका लागि डिभाइस क्लोजर जस्ता अत्याधुनिक सेवाहरू समेत अस्पतालमा उपलब्ध हुनेछन् ।
अस्पताल प्रशासनका अनुसार डा. कुमारबाट मुटुको जाँच तथा परामर्श लिन चाहने बिरामीहरूले आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवा लिन सक्नेछन् ।
मुटु रोगको उपचारका लागि टाढा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै स्थानीय स्तरमै विश्वस्तरीय प्रविधि र विशेषज्ञतासहितको सेवा दिन प्रतिबद्ध रहेको अस्पतालले जनाइएको छ ।

संगालोखबर 
















