
धनकुटा । धनकुटामा डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । आज स्वास्थ्य कार्यालय धनकुटाले बजारका विभिन्न ठाउँमा र्यालीसहित सचेतना कार्यक्रमको आयोजना गरी अभियान शुभारम्भ गरेको हो ।
भीमनारायण चोकदेखि बसपार्कसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । स्थानीयलाई जानकारी गराउने उद्देश्यले डेङ्गु रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेले जानकारी दिइन् ।
सचेतना अभियानमा डेङ्गुबारे जानकारी, बच्न अपनाउनुपर्ने उपायलगायतका विषयमा नागरिकलाई जानकारी दिइने उनले बताइन् । जिल्लाका सातवटै स्थानीय तहमा डेङ्गु नियन्त्रणका लागि हरेक शुक्रबार अभियान सञ्चालन गरिने उनको भनाइ छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हरेक टोल, गाउँ देखि स्थानीय तहसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नु डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताइन् । यसका लागि सबै सरोकारवाला निकाय तयारी रहनुपर्ने उनको भनाई छ ।
स्वास्थ्य कार्यालयका अनुसार डेङ्गु सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य हो । लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नुअघि यसको लार्भा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेङ्गुको सङ्क्रमण घटाउन सकिने कार्यालयले जनाएको छ ।
जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ४२ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । जसमा सबैभन्दा बढी महालक्ष्मी नगरपालिकाका २५ जना डेङ्गु सङ्क्रमित भएका छन् । यस्तै धनकुटा नगरपालिकाका ६, पाख्रीबास नगरपालिकाका ५, साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकाका ३/३ जनामा डेङ्गु सङ्क्रमण भएको कार्यालयले जनाएको छ ।
चौबिसे गाउँपालिका र सहिदभूमि गाउँपालिकामा भने सङ्क्रमण देखिएको छैन् । धनकुटामा अघिल्लो आर्थिक वर्षमा १ सय ७३ जनामा डेङ्गु सङ्क्रमण भएको थियो ।

सन्तोष सुवेदी/संगालोखबर 
















