
भोजपुर । भोजपुरमा पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियर आनन्दकुमार साहमाथि कुटपिट भएको छ । निर्माणाधीन सडक आयोजनाको स्थलगत अनुगमनमा गएका उनलाई कामदारको समूहले आक्रमण गरेको हो ।
निर्माण कार्यको गुणस्तरबारे निर्देशन दिने क्रममा आयोजनामा कार्यरत कामदारको समूहले उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
भोजपुर-मानेभञ्ज्याङ-बैकुण्ठे–वासिखोरा-बालंखा-रानीटार सडकअन्तर्गत रामप्रसाद राई गाउँपालिका-७ मा निर्माणाधीन ढडुवा-आरीखोला सडक खण्डको अनुगमनका बेला उनीमाथि आक्रमण भएको भोजपुरका प्रहरी प्रमुख डीएसपी राजु लामाले जानकारी दिए ।
स्थलगत निरीक्षणका क्रममा उनले निर्माणको गुणस्तर कायम गर्न निर्देशन दिँदा विवाद भएको खुलेको छ । सोही क्रममा कामदारले आक्रमण गर्दा साहको टाउकोमा चोट लागेको हो ।
आक्रमणबाट घाइते भएका साहलाई जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीका अनुसार उनको टाउकोमा पाँच टाँका लगाइएको छ ।
घटनामा संलग्न भएको आशंकामा छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी लामाले संगालोखबरलाई जानकारी दिए । यस घटनाप्रति पूर्वाधार विकास कार्यालय भोजपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगालोखबर 
















