
कैलाली । कैलालीमा अभ्यासका क्रममा ग्रिनेट बम बिस्फोट हुँदा एक जना नेपाली सेनाको मृत्यु भएको छ । सोही क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गे ब्यारेकमा अभ्यासको क्रममा ग्रिनेड बिस्फोट भएको हो । बिस्फोटमा परेर हुद्दा हिमालविक्रम बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का घाइते सहसेनानी हिमराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । आज बिहान अभ्यासका क्रममा ग्रिनेड बिस्फोट हुँदा उनीहरू गम्भीर घाइते भएका थिए । दुबै जना घाइतेलाई साढे १० बजेतिर लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।
हुद्दा बिष्टको दाहिने हातको हत्केला र छर्राले शरीरको अन्य भागहरूमा चोट लागेकोमा उपचारका क्रममा मध्यान्ह १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शरीरमा छर्रा लागेर घाइते भएका जोशीको अवस्था खतरामुक्त छ ।

संगालोखबर 



















