
विराटनगर । हुलाकी राजमार्ग अन्तरगत सुनसरीको बर्जु गाउँपालिका-६ नहर चोक नजिक आज दिउँसो ईभी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी घर भएका प्रहरी वरिष्ठ सई अन्दाजी ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएकोमा उनको उपचारका क्रममा दिउँसो ४ः१६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार उनकी पत्नी ४७ वर्षीया रामपरी यादव घाइते भएकी छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आज अपरान्ह १२ बजेतिर दुर्घटना भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार विराटनगरबाट बर्जु गाउँपालिकाको चिमडीतर्फ जाँदै गरेको प्र १-०२-००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०१-००३ प २६१२ नम्क्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनालगत्तै प्रहरीले कार चालक अन्दाजी ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । मोरङको कटहरी गाउँपालिका-३ घर भएका चौधरी रेडियोलोजिस्ट हुन् । चौधरी चिमडी बजारमा एक्स-रे गर्न जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















