सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म छिन्ताङमा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक तालिम सुरु गरिएको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली सुनसरी र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेड क्वाटर छिन्ताङको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।

Advertisement

तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् । जसमध्ये १३ जना पुरुष र ७ जना महिला छन् । तालिममा विपद् सूचक तथा स्थानीयवासीहरूको समेत सहभागिता छ । यस्तै ७ जना नगर प्रहरी सहभागि छन् ।

तालिममा विपद्को परिचय, बाढी पहिरो तथा पानीजन्य विपद्मा खोज उद्धार, भूकम्प, आगलागी नियन्त्रण तथा सुरक्षा, भत्केका संरचनाहरूमा खोज तथा उद्धार, प्राथमिक उपचार, गाँठोको प्रकार तथा प्रयोग विधि सम्बन्धी विषयहरूमा प्रशिक्षण दिइने छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ धनकुटाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलले तालिम ७ दिनसम्म सञ्चालन हुने जानकारी दिए । तालिमको उद्‌घाटन सत्रमा बोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद्का घटनामा स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण हुने बताइन् ।

उनले विपद्जन्य घटनाको उद्धारमा तत्कालै खटिनु पर्ने बताउँदै समुदायमै दक्ष स्वयंसेवक तयार भएमा विपद्को प्रभाव न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने उल्लेख गरिन् । विपद् व्यवस्थापनमा सरकारी निकाय मात्रै पर्याप्त नहुने भन्दै उनले समुदाय र सबै स्तरबाट साथ सहयोग हुनुपर्ने उनको भनाइ थियो ।

जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको तालिममा विपद्का बेला तत्काल प्रतिकार्य गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रले समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विपद् प्रतिकार्यका कार्यलाई थप प्रभावकारी बनाउन तालिम आयोजना गरिएको सिग्देलले बताए । सिग्देलले विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय र सुरक्षा निकायबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गरे ।

तालिमबाट समुदायस्तरमा दक्ष स्वयंसेवक समूह तयार पारेर विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!