
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवा स्थित शिवरात्रि टोलको एक घरमा आगलागी भएको छ । आगलागीबाट चार लाख बढीको क्षति भएको छ ।
आज बिहान अचानक करिब ४ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट शिव कुमार तुम्बाको टिनको छानो भएको काठले बनेको दुईतले कच्ची घर नष्ट भएको छ ।
आगलागीबाट काठपात, खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएका छन् । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीका अनुसार आगलागीबाट तुम्बाको अन्दाजी दुई लाख ७० हजार बराबरको क्षति भएको छ ।
यस्तै सोही घरमा भाडामा बस्दै आएकी संखुवासभाको पाँचखपन नगरपालिका-७ की मिना चापागाईँको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, ल्यापटप, टिभी र मोबाइल पनि आगलागीबाट नष्ट भएको छ । उनको करिब एक लाख ५२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
तुम्बा र चापागाईँको गरेर जम्मा चार लाख २२ हजार बराबरको क्षति भएको डीएसपी भण्डारीले जानकारी दिए । प्रहरीले स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।


संगालोखबर 


















