सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । समयमै वर्षा नहुँदा धनकुटाको तल्लो भू-भागमा अधिकांश स्थानका खेतीयोग्य जमिन बाँझै छन् । लामो समयको खडेरीका कारण सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझो भएका हुन् ।

Advertisement

असारको पहिलो साता बित्न लाग्दा समेत धनकुटाको तल्लो भू-भागमा वर्षा भएको छैन । पाख्रीबास नगरपालिका-५ स्थित भैसेका करिब २० घर परिवार बर्खा लाग्दासमेत पानी नपरेपछि चिन्ता छन् ।

उनीहरूले मुख्य बालीका रूपमा मकै, कोदोलागायतका नगदे बाली लगाउने गरेका छन् । असारको पहिलो साता बित्न लाग्दा समेत पर्याप्त वर्षा नहुँदा अन्नबाली लगाउन नपाएको किसानले बताए ।

‘फागुनको अन्तिम साता बोकेको मल बारीमा खङ्र्याङ् सुकिसक्यो’, स्थानीय कृषक सन्तोष भुजेलले भने, ‘फागुन तिर अलिअलि वर्षा भयो । बारीमा मल बोकियो तर बाली लगाउने बेलामा पानी नपार्दा थप समस्या भएको छ ।’

भुजेल मात्र हैन यस क्षेत्रको सिंगो गाउँनै खडेरीको चपेटामा परेको छ । चारैतिर हरियाली हुने बेलामा बारी सुख्खा देखिन्छन् । पानी नपरेका कारण बाली लगाउन नपाउँदा गाईबस्तुलाई खुवाउने घाँसको समेत अभाव भएको किसानहरू बताउँछन् ।

‘धारामा खानका लागि जेनतेन पानी त आउँछ । तर बारीमा सागसब्जी अन्नबाली नै नभएपछि के खाने ?’ भुजेलले प्रश्न गरे । घरमा दैनिक भान्सामा उपभोग गर्ने तरकारी समेत आकाशे पानीको भरमा लगाउनुपर्ने उनीहरूको बाध्यता छ ।

स्थानीय गंगामाया भुजेलको पनि उस्तै समस्या छ । ‘बेँसीमा लगाएको धान खेतीले मात्र केही हुँदैन’, उनले भनिन्, ‘प्रति घरपरिवार ७ रोपनी क्षेत्रफल बढीमा मकै लगाउने गरेको भएता पनि पानी नपर्दा समस्या भयो ।’

बारीमा मल बोकेको तीन महिनासम्म पनि बाली लगाउन नपाउँदा समस्या थपिएको उनले बताइन् । आर्थिक रूपले सम्पन्न बसाइ सरेर अन्यत्र गएपनि विपन्नहरू ठाउँ छोडेर जान सकेका छैनन् ।

उनीहरू बाध्यताले भएपनि यही बसेर खेतीपाती गर्दै आएका छन् । समयमै बारी जोतखन गरेर पनि सिँचाइको सुविधा नहुँदा बाली लगाउन नपाएको दियालेकी टंकमाया निरौलाले बताइन् ।

सरकारले अरुण नदिबाट लिफ्टिङ सिस्टमबाट पानी ल्याएर वितरण गरिदिएदेखि सहज हुने स्थानीय बताउँछन् । खडेरीकै कारण जिल्लाको तल्लो क्षेत्रमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!