
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रगतिटोलमा चोरीको गाडी प्रयोग गरेर घर-घरमा चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-६ का १८ वर्षीय जुमुन मियाँ छन् ।
आज बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न लागेको अवस्थामा उनी समातिएका हुन् ।
प्रहरीका अनुसार चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला गरेकी थिइन् । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट मधेश प्रदेश ०४-००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद भएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 


















