संगालोखबर


धनकुटा । धनकुटा एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर गोपाल बराइलीलाई नेपाली काँग्रेस धनकुटाका क्षेत्रीय सदस्य पर्शु कार्कीले सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिएका छन् ।

समाचारको विषयलाई लिएर पत्रकार बराइलीलाई कार्कीले धम्की दिएका हुन् । पत्रकार बराइलीलाई धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चारकर्मीलाई भौतिक आक्रमणको धम्की दिएको भन्दै धनकुटा शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

महालक्ष्मी नगरपालिका-७ आन्द्रुङका कार्कीले बराइलीमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानसिक दबाब सिर्जना गरेको उल्लेख गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका बराइली दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष छन् ।

कार्कीले सामाजिक सञ्जाल मेसेन्जरमा जातीय रूपमा गाली गर्दै परिवार र ज्यानको ख्याल गर भन्दै धम्की दिइएको बराइलीले बताए । गत असार ४ गते राहदानी छपाइ प्रकरणको बारेमा नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापालाई अख्तियारले छानविन गरेको विषयमा बराइलीले धनकुटा एफएम डटकममा समाचार प्रकाशित गरेका थिए ।

‘समाचारप्रति कुनै गुनासो वा असहमति भए कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानसिक दबाब सिर्जना गर्नु उचित होइन’, पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्सालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!