
धनकुटा । धनकुटा नगरपालिकाको १८ औँ नगर सभाको दोस्रो बैठक सम्पन्न भएकाे छ । आज नगर प्रमुख चिन्तन तामाङ्गको अध्यक्षतामा बसेकाे बैठकमा नीति, ऐन र प्रतिवेदन पारितसँगै कर्मचारी र कृषकहरूलाई सम्मान गरिएकाे छ ।
स्थानीय विकास, आर्थिक समृद्धि र सुशासनलाई थप मजबुत बनाउने उद्देश्यका साथ आयोजित उक्त सभामा नगरपालिकाकी उपप्रमुख भीमादेवि खनालले आर्थिक ऐन २०८३, विनियोजन ऐन २०८३ र न्यायिक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
यसैगरी नगरसभा सदस्य टंक प्रसाद रोइलाले नगरपालिकाको मध्यमकालीन खर्च संरचना (आ.व. २०८३/८४ देखि २०८५/८६) तथा लेखा समितिका संयोजक गोविन्द राईले सन् ०८३ को लेखा समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेका छन् ।
सभामा गहन छलफलपछि पेश भएका सबै ऐन र प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिनुका साथै गत वैशाख २५ गतेदेखि जेठ २९ गतेसम्म कार्यपालिकाले गरेका विभिन्न निर्णयहरूलाई समेत अनुमोदन गरिएको छ ।

नगर सभाको अवसरमा धनकुटा नगरपालिका क्षेत्रभित्रका विभिन्न विधामा उदाहरणीय योगदान पुर्याउने उत्कृष्ट व्यक्ति, कृषक, व्यवसायी तथा कर्मचारीहरूलाई नगर प्रमुख र उपप्रमुखद्वारा नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।
संस्थागत तथा व्यावसायिक क्षेत्रतर्फ धनकुटा–१० को महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र उत्कृष्ट करदाताका रूपमा धनकुटा–१ हिलेकी मिना कुमारी राना मगर सम्मानित भए ।
यस्तै आ–आफ्नो वडामा बढी कर संकलन गर्न सफल भएकोमा धनकुटा नगरपालिकाको वडा नम्बर १ र ७ को कार्यालयलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट पसल सञ्चालकका रूपमा हिलेको सुमन स्टोर र धनकुटाको बाजे किराना पसल सम्मानित भएका छन् ।
सामुदायिक विकासतर्फ धनकुटा–५ को तलेघर टोल विकास संस्था र उपभोक्ता समूहतर्फ धनपा–२ को मधुगंगा टेर्से कुलो सिचाइ योजना पुरस्कृत भएका छन् । नगरपालिकाको आकर्षक लोगो डिजाइन गरेबापत धनकुटा–२ की रुपा वनेमलाई पुरस्कार प्रदान गरिएको छ ।
कृषि तथा उद्यमशीलताको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने कृषक तथा उद्यमीहरूलाई पनि नगर सभामा विशेष सम्मान दिइएको छ । पशुपालन क्षेत्रमा धनकुटा–७ स्थित होमवारक पशुपंछि कृषि फर्मकी सन कुमारी राई, खाद्यान्न बालीस्रोतर्फ धनकुटा–२ का माधव भण्डारी र फलफूल खेतीतर्फ धनकुटा–९ का केशव भण्डारी पुरस्कृत भएका छन् ।
तरकारी तथा अगुवा कृषकको विधातर्फ धनकुटा–२ स्थित मधुगंगा एग्रो फर्मकी राम कुमारी तामाङ्ग र उद्यम क्षेत्रतर्फ धनकुटा–९ मा सञ्चालित अमु हस्तकला उद्योगका सञ्चालक सुनिल रसाइलीलाई पुरस्कृत गरिएको छ ।
यसैगरी, नगरको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन अहोरात्र खटिने वडा तथा कार्यपालिकाका कर्मचारीहरूलाई समेत उनीहरूको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको छ ।
वडा कार्यालयतर्फ धनकुटा–७ का वडा सचिव सुमित प्रधान श्रेष्ठ र धनकुटा–३ की सहायक कर्मचारी गीता तिम्सिना उत्कृष्ट भए । नगरपालिकाको केन्द्रीय कार्यालयतर्फ अधिकृत स्तरका कर्मचारी भक्तमान राई, सहायक स्तरका कर्मचारी प्रेम प्रसाद निरौला र कार्यालय सहयोगी कल्पना दाहाल सम्मानित भए ।
नगरको सुरक्षा र स्वच्छतामा खटिने कर्मचारीहरूमध्ये नगर प्रहरी चन्द्र कुमारी राई र सरसफाइकर्मी शंकर तामाङ्गलाई उनीहरूको इमानदारिता र लगनशीलताका लागि पुरस्कृत गरिएको छ ।

संगालोखबर 



















