
विराटनगर । भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चियाको निर्यात प्रभावित भएपछि झापाका चिया उद्योगहरू पनि बन्द भएका छन् ।
असार १ गतेबाट इलामका चिया उद्योग बन्द भएकोमा झापाका चिया उद्योगीहरूले आजदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा चिया बगान बन्द गरेका हुन् ।
नेपाल चिया उत्पादक सङ्घ झापाले भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै भारतीय पक्षको नयाँ प्रावधानले नेपाली चिया निर्यात लगभग ठप्प बनेको जनाएको छ । अहिले उद्योग सञ्चालन असम्भवजस्तै भएको भन्दै आन्दोलनस्वरूप उद्योग तथा बगान बन्द गरिएको संघले जनाएको छ ।
नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले भारतले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया सहज रूपमा निर्यात गर्न नसकिएको बताए । उनले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै चिया क्षेत्र जोगाउन तत्काल कूटनीतिक र नीतिगत पहल आवश्यक रहेको उल्लेख गरे ।
नेपालमा उत्पादित सीटीसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको छ । त्यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको छ ।
चिया क्षेत्रले देशभर करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । साथै यस क्षेत्रबाट राज्यले वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व प्राप्त गर्दै आएको तथ्याङ्क छ ।
उद्योगीहरूले सरकारले तत्काल समस्या समाधानतर्फ पहल नगरे चिया उद्योग, किसान, श्रमिक र निर्यात व्यापार सबै गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन् ।

संगालोखबर 



















