सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा फौजी किराको प्रकोप फैलिएको छ । मकैखेती लगायतका बालीमा अमेरिकन फौजी कीराको प्रकोप फैलँदा कृषक चिन्तित भएका छन् ।

नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेका कारण धनकुटामा वर्षेनी मकैबाली लगायतको हरियोबालीमा क्षति हुँदै आएको छ । पाख्रीबास नगरपालिका-५ स्थित दियालेका कृषकले लगाएको मकै लगायतको बाली फौजी किराले सखाप बनाएको छ ।

Advertisement

स्थानीय कृषक देवेन्द्र बहादुर निरौला फौजी किराको प्रकोपले हैरान भएका छन् । ‘दुःखले खनजोत गरी मकैबाली त लगायौँ’, उनले भने, ‘तर बीउ पनि जोगाउन मुस्किल हुने भयो । लगानीको त कुरै छाडौँ ।’

विषादी लगाउँदा पनि फौजी किराको रोकथाम हुन नसकेको उनले बताए । यस्तै अर्का कृषक अमर बहादुर तामाङको समस्या पनि उस्तै छ । तामाङमाले करिब १८ रोपनी क्षेत्रफलमा मकै खेती लगाएका छन् ।

‘वर्षमा तीन बाली लगाउने गरेको थियो । यो वर्ष त एक बाली पनि उठ्न गाह्रो छ’, उनले भने, ‘के खाने ? के गर्ने ? स्थानीय सरकारले गएका वर्ष विषादी वितरण गरेको थियो । यो वर्ष त केही गरेको छैन ।’

सुर्योदयपछि सूर्यास्तसम्म लुकेर बस्ने फौजी किराले मकैको पातमा पसेर गाबो रातारात खाने गर्दछ । फौजी किरा दिनभर सु-सुप्त अवस्थामा बस्ने र रातभरि सक्रिय हुने गरेको छ ।

किराको आक्रमण तीब्र रूपमा फैलिएको कारण मकैका कलिला बोट सुक्न थालेका अर्का कृषक नेत्रबहादुर भुजेले बताए । हरेक वर्ष यो समस्या भइरहे पनि दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले चासो नदिएको किसानहरूको गुनासो छ ।

धनकुटाको पाख्रीबास स्थित डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवामा बढी मात्रामा फौजी किराको प्रकोप देखिएको छ । यस्तै महालक्ष्मी नगरपालिकाका लगायतका क्षेत्रमा पनि मकैका बोट पहेँलो हुँदै सुक्न थालेका छन् ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार फौजी किराको संक्रमण कम वर्षा भएको समयमा बढी हुने गरेको छ । वर्षा कम भएकोले संक्रमण बढेको ज्ञान केन्द्रले जनाएको छ ।

फौजी कीराको जोखिम देखा परेको ठाउँमा किसानहरूलाई स्थानीय तहमार्फत विषादी वितरण गर्ने गरिएको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिए । धनकुटामा १३ हजार ४ सय ७० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको ज्ञान केन्द्रको तथ्याङ्क छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!