
धनकुटा । धनकुटामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
आज बिहान करिब ७ः१५ बजे धनकुटा नगरपालिका-४ स्थित स्कुलडाँडामा हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बर र विपरित दिशा तर्फबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।
दुर्घटनामा ८०९८ नम्बरको मोटरसाइकल चालक सुनसरीको रामधुनी नगरपालिका-९ घर भइ हाल धनकुटा नगरपालिका-७ स्थित सब्जीलाइन बस्दै आएका ५५ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा बिहान ९ः५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख योगेन्द्र खड्काले जानकारी दिए । प्रहरीका अनुसार चौधरी धनकुटामा फर्निचर व्यवसाय गर्दै आएका थिए ।
दुर्घटनामा अर्को मोटरसाइकलका चालक धनकुटा नगरपालिका-१ हिलेका श्याम तामाङ घाइते भएका छन् । उनलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















