
विराटनगर । भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियाका कारण नेपाली चिया निर्यात प्रभावित भएको छ । जसका कारण पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा परेका छन् ।
निर्यात ठप्प बनेपछि इलामका ५३ चिया उद्योग आजबाट बन्द हुँदैछन् । झापाका ३० उद्योगले असार ४ गतेदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन् ।
उद्योगीहरूका अनुसार भारतमा निर्यात भइसकेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा गोदाममै रोकिएको छ । नेपालभित्रै उद्योगहरूमा थप सात लाखदेखि १५ लाख किलोसम्म तयारी चिया बिक्रीविहीन अवस्थामा थन्किएको छ ।
निर्यात रोकिएपछि उद्योगीहरूले किसानबाट खरिद गरिएको हरियो चियापत्तीको भुक्तानी गरेका छैनन् । इलामको सूर्याेदय नगरपालिकामा मात्रै करिब दुई हजार नौ सय ९५ किसान चिया खेतीमा संलग्न छन् ।
नगरपालिकाको ३३ हजार छ सय ५५ रोपनी क्षेत्रफलमा वार्षिक करिब २ करोड किलो हरियो चियापत्ती उत्पादन हुने गरेको छ । उद्योग बन्द भएपछि किसानको बारीमै चियापत्ती कुहिने र हजारौं श्रमिकको रोजगारी जोखिममा पर्ने चिन्ता बढेको छ ।
उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन गर्न असम्भव भएको उद्योगीहरूले बताएका छन् । भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अनुसार नेपालबाट जाने प्रत्येक खेपको चियाको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था छ ।
उद्योगीहरूका अनुसार परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने र प्रतिवेदन नआउन्जेल चिया बिक्री गर्न नपाइने भएकाले व्यापारिक जोखिम बढेको छ । भारतीय पक्षले लगाएको अवरोध नहटाएसम्म उद्योग र बगान बन्द रहने उद्योगीको अडान छ ।
नेपालबाट वार्षिक करिब सवा ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुँदै आएको छ । देशभर करिब २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ भने किसान र श्रमिक गरी ५० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा यस क्षेत्रमा निर्भर छन् ।

संगालोखबर 


















