सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको नेपाल गर्गाचार्य विश्वभाषा पुस्तकालयले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई सम्मान गरेको छ । शनिबार पुस्तकालयको १५ औं वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा उनीहरूलाई नगदसहित सम्मान गरिएको हो ।

पत्रकारिता र साहित्यको माध्यमबाट समग्र राष्ट्रका लागि योगदान पुर्याएको भन्दै गर्गाश्री सम्मानबाट इटहरीका साहित्यकार तथा पत्रकार कृष्णप्रसाद अधिकारी सम्मानित भएका छन् ।

Advertisement

यस्तै धनन्जय घिमिरे स्मृति सम्मानबाट धनकुटाका राजनीतिज्ञ एवम् समाजसेवी आनन्द सन्तोषी राई र धनमाया लामिछाने स्मृति पुरस्कारबाट विराटनगरका कवि एवम् आख्यानकार लक्ष्मी पोख्रेल सम्मानित भए ।

डिल्लीमाया बराल स्मृति एकल महिला समाजसेवा पुरस्कारबाट झापाकी साहित्यकार एवम् सामाजिक व्यक्तित्व राधादेवी घिमिरे र लक्ष्मीकान्त देव्यकन्या रुक्मिणी स्मृति पुरस्कारबाट ज्योतिष विज्ञान र पूर्वीय दर्शनको श्रीवृद्धिका लागि योगदान पुर्याउने धनकुटाका माधवप्रसाद दाहाल सम्मानित भए ।

सम्मानित हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि कवि तथा साहित्यकार विवश पोख्रेल, नेपाल गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटाका संस्थापक तथा संरक्षक टीकाप्रसाद लामिछाने, अध्यक्ष घनश्याम बराल र जिल्ला समन्वय समिति प्रमुख निरन तामाङ लगायतले जनही नगद ५ हजार १११ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेका छन् ।

संस्थापक तथा संरक्षक लामिछानेले २०६८ सालमा करिब २ करोड लागतमा पुस्तकालय स्थापना गरेका थिए । पुस्तकालयमा हाल ४० हजार पुस्तक, १३ हजार ७ सय ६४ पत्रपत्रिका सहित ५ करोड बढीको चलअचल सम्पत्ति रहेको पुस्तकालयका महासचिव मुकुन्द प्रयासले बताए ।

पुस्तकालयले हालसम्म ८ दर्जन बढीलाई पुरस्कृत गरिसकेको छ । पुस्तकालयले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!