संगालोखबर


विराटनगर । महामारीजन्य तथा संक्रामक रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह र समुदायस्तरमै नियन्त्रणका उपायलाई प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मीका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा १९ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीलाई समुदायस्तरमा देखिने रोगका लक्षण पहिचान, जोखिम मूल्यांकन, सूचना व्यवस्थापन तथा महामारी नियन्त्रणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।

Advertisement

कार्यक्रम उद्‌घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले कुनै पनि रोग वा महामारी नियन्त्रणको पहिलो आधार समयमै सूचना प्राप्ति हुने भएकाले स्वास्थ्यकर्मीले समुदायमा देखिएका असामान्य स्वास्थ्य अवस्थाबारे तत्काल सूचना संकलन र सम्प्रेषण गर्नुपर्ने बताए । उनले अभिमुखीकरणबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै परिणाममुखी कार्यसम्पादन गर्न सहभागीलाई निर्देशन दिए ।

स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले महामारी नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका निर्णायक हुने उल्लेख गर्दै समुदायमा देखिएका रोगका प्रारम्भिक लक्षण पहिचान गरी सम्बन्धित निकायसम्म तत्काल जानकारी पुग्न सके संक्रमण फैलिनुअघि नै नियन्त्रण गर्न सकिने बताए ।

‘रोगको प्रारम्भिक संकेतलाई बेवास्ता नगरी समयमै रिपोर्टिङ गर्ने प्रणाली बलियो बनाउनु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘समयमै रोगको लक्षण थाहा भएमा महामारी समुदायमा फैलिनबाट रोक्न सकिन्छ ।’

जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार अभिमुखीकरणमार्फत स्वास्थ्यकर्मीलाई ‘सोरमास’ सूचना प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको छ । उक्त डिजिटल प्रणालीमार्फत स्थानीय तहबाट संकलित स्वास्थ्यसम्बन्धी सूचना प्रदेश तथा संघीय निकायसम्म छिटो र व्यवस्थित रूपमा पुग्नेछ ।

उनले समयमै सूचना आदानप्रदान हुन सके महामारी नियन्त्रणका लागि आवश्यक स्रोत परिचालन, जोखिम विश्लेषण तथा रणनीति निर्माणमा सहजता आउने बताए । ‘स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गर्दै समुदायमै रोगको पहिचान र नियन्त्रण गर्न सकिने क्षमता विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो’, कार्कीले भने ।

स्वास्थ्य विज्ञहरूका अनुसार जलवायु परिवर्तन, बढ्दो शहरीकरण तथा जनघनत्वका कारण विभिन्न संक्रामक रोगको जोखिम बढिरहेका बेला समुदायमा आधारित रोग निगरानी प्रणाली प्रभावकारी सार्वजनिक स्वास्थ्य व्यवस्थापनको महत्वपूर्ण आधार बन्दै गएको छ । यस्तो प्रणालीले रोगको प्रारम्भिक संकेत पहिचान गरी सम्भावित महामारीलाई फैलिनुअघि नै नियन्त्रण गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।

विराटनगर महानगरपालिकाले आगामी दिनमा सबै वडामा समुदाय-आधारित स्वास्थ्य निगरानी प्रणालीलाई थप सुदृढ बनाउँदै डिजिटल रिपोर्टिङ, स्वास्थ्य सचेतना अभियान तथा आपत्कालीन स्वास्थ्य प्रतिकार्य संयन्त्रलाई समेत विस्तार गर्ने जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!