
विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनले स्थापनाको पहिलो वर्ष सफलतापूर्वक पूरा गरेको छ । जीवन विकास समाजको सभाहलमा आइतबार एक विशेष समारोहको आयोजना गरी अस्पतालले भव्य रूपमा प्रथम वार्षिकोत्सव मनाएको हो ।
स्थापनाको पहिलो वर्षमै अस्पतालले उल्लेखनीय प्रगति हासिल गर्दै कुल ८ हजार ५३७ जना बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गरिसकेको छ । सेवालाई अझै प्रभावकारी र आधुनिक बनाउने उद्देश्यका साथ अस्पतालले हालै मात्र सुविधासम्पन्न एमआरआई र सिटी स्क्यान मेसिन जडान गरी सेवा सुचारु गरिसकेको अस्पतालले जनाएको छ ।
कार्यक्रममा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवं पूर्व सांसद योगेन्द्र मण्डलले अस्पताललाई भविष्यमा विश्वस्तरीय उपचार सेवा प्रदान गर्ने केन्द्रका रूपमा स्थापित गर्ने योजना रहेको सुनाए ।
‘अस्पताललाई भविष्यमा विश्वस्तरीय उपचार सेवा प्रदान गर्ने केन्द्रका रूपमा स्थापित गर्ने योजना छ’, उनले भने, ‘यसका लागि सबैको साथ सहयोग आवश्यक हुन्छ । सबैले इमान्दारितापूर्वक काम गरेको खण्डमा यो सपना पूरा हुन समय लाग्दैन ।’

अस्पतालको प्रवर्द्धक संस्था जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले अस्पतालको प्रगतिको प्रशंसा गर्दै अझै जनमैत्री सेवामा केन्द्रित हुन सुझाव दिइन् । अस्पतालका संयोजक तेजस्वी मण्डलले मुटु रोगका बिरामीहरूको उपचारका लागि चाँडै नै क्याथ ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । उनले सर्वसाधारणलाई थप सहजता प्रदान होस् भन्ने उद्देश्यले छिट्टै आँखा उपचार सेवा समेत सुरु गर्न लागिएको बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जीवन विकासले अघि बढाएका हरेक संस्था र संरचनालाई सबैको सामूहिक पहलमा अझ बलियो र भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
वार्षिकोत्सवको अवसर पारेर अस्पतालले सहायक मेडिकल डाइरेक्टरमा डा. अभिनव श्रेष्ठ र हाडजोर्नी विभागको प्रमुखमा डा. अमरेन्द्र यादवलाई नियुक्त गरेको छ । जीवन विकास समाजकी अध्यक्ष रिबोलदेवीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरू सहभागि थिए ।


संगालोखबर 

















