
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ तित्रीवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार राति करिब ११ः१५ बजे सडकमा रोकेर राखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका-८ का २९ वर्षीय विनोद चौधरीको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इनरुवा-८ का २० वर्षीय आर्यन चौधरी र इनरुवा-३ का २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् । घाइतेमध्ये आर्यनको विराट नर्सिङमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य अवस्थाका आशिष उपचारपछि घर फर्किएका छन् ।
टायर पन्चर भएका कारण सडकको साइडमा रोकेर राखिएको १ ख ५१२८ नम्बरको टिपरमा झुम्काबाट इनरुवातर्फ आउँदै गरेको प्रदेश १-०२-०४३ प ५८२२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको हो ।
प्रहरीले टिपर चालक सुनसरीको कोशी गाउँपालिका-३ का ४८ वर्षीय लाल मोहमद मियाँलाई नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 

















