
धनकुटा । धनकुटामा उपन्यासकार धनबहादुर आठपहरियाद्वारा लिखित ‘सुजुना’ उपन्यासको परिचर्चा गरिएको छ । नगर क्षेत्रमा मात्रै मुख्य बसोवास रहेका आठपहरियाको ‘मिसन पोएट्री’ र किरात आठपहरिया भाष साहित्य तथा सांस्कृतिक विभाग धनकुटाको संयुक्त आयोजनामा उपन्यासमाथि परिचर्चा गरिएको हो ।
धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक यज्ञप्रसाद गुरागाईंले पुस्तकमाथि परिचर्चा गर्दै आठपहरिया समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक तथा लैङ्गिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको बताए ।
‘सुजुना’ केवल एक पात्रको कथा नभई नेपाली समाजका अभाव, संघर्ष र पीडामा बाँचेका हजारौँ महिलाको प्रतिनिधि कथा भएको उनले बताए । उपन्यासकी मुख्य पात्र सुजुना आर्थिक रूपमा कमजोर परिवारकी १२ वर्षीया बालिका रहेकी र शिक्षा प्राप्त गर्ने उद्देश्यले काठमाडौं पुगेकी उनी विभिन्न परिस्थितिसँग जुध्न बाध्य हुन्छिन् ।
रोजगारीका नाममा गराइएको श्रमको उचित मूल्य नपाउनु, शोषण र विभेद भोग्नुपर्ने जस्ता यथार्थ घटनालाई लेखकले मार्मिक ढंगले प्रस्तुत गरेको प्राध्यापक गुरागाईंले बताए । उपन्यासमा आठपहरिया समुदायको संस्कृति, परम्परा, जीवनशैली तथा जन्मदेखि मृत्युसम्मका संस्कारहरूलाई समेत समेटिएको छ ।

मार्गाथानसँग सम्बन्धित सांस्कृतिक पक्षहरूलाई कथा वस्तुसँग जोड्दै लेखकले समुदायको मौलिक पहिचानलाई साहित्यिक रूपमा अभिव्यक्त गरेका छन् । यस्तै २६ वटा शीर्षकमा विभाजित कृतिले सामाजिक यथार्थ, मातृत्व, आर्थिक अभाव, रोग, लैङ्गिक विभेद तथा विभिन्न समस्याबाट पीडित नारीहरूको जीवन सङ्घर्षलाई समेत चित्रण गरेको छ ।
उपन्यासमा भाषाशैली सरल, प्रभावकारी र भावनात्मक रहेको उल्लेख गर्दै यसले पाठकलाई अन्तिमसम्म बाँधेर राख्न सक्ने उनले बताए । कृतिले कारुणिक र भावुक प्रसङ्गमार्फत समाजलाई सकारात्मक सन्देश दिन सफल भएको उनको भनाइ छ ।
उपन्यासमा लेखक स्वयंलाई दोस्रो प्रमुख पात्रका रूपमा प्रस्तुत गरिएको छ । धनकुटा आसपासका भूगोल, समुदाय र सामाजिक परिवेशलाई आधार बनाएर लेखिएको कृति अध्ययन, संग्रह र अनुसन्धानका लागि उपयुक्त रहेको छ ।
यस्तै आठपहरिया समुदाय नेपालका सीमान्तकृत समुदायमध्ये एक भएको उल्लेख गर्दै समुदायभित्रका यथार्थ र पहिचानलाई साहित्यमार्फत राष्ट्रिय स्तरमा पुर्याउने कार्यमा ‘सुजुना’ महत्वपूर्ण कृति बनेको सहभागीहरूले बताए ।
सुजुना उपन्यास परिचर्चामा प्राध्यापक गुरागाईंलगायत साहित्यकार मुकुन्द प्रयास, लेखक धनबहादुर आठपहरिया लगायत साहित्यप्रेमी, बुद्धिजीवी तथा आठपहरिया समुदायका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

सन्तोष सुवेदी/संगालोखबर 

















