
विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पतालमा एक बालिकाको टाउकाको जटिल शल्यक्रिया गरिएको छ । टाउकोमा गम्भीर चोट लागेर उपचारका लागि भारतबाट ल्याइएकी बालिकाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
बेहोस अवस्थामा रहेकी उनलाई अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो । परीक्षण गर्दा टाउकाको हड्डी भाँचिएर दबिएको र टाउकोमा रगत जमेको पत्ता लाग्यो । गम्भीर अवस्थामा रहेकी उनलाई जीवन विकास अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा.विवेक गौरव सिंह नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
उनको दबिएको हड्डीलाई पुरानै अवस्थामा राखेर जमेको रगत निकालिएको डा.सिंहले जानकारी दिए । शल्यक्रियापश्चात् उनलाई पेडियाट्रिक आईसीयूमा राखेर उपचार गरिएको छ । १९ दिनको उपचार पश्चात अहिले उनी निको भएर सामान्य अवस्थामा फर्किएको न्यूरो सर्जन डा.सिंहले जानकारी दिए । निको भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
गम्भीर चोटका कारण मृत्युको मुखमा पुगेकी उनी उपचार पश्चात निको भएपछि परिवारमा खुशियाली छाएको छ । अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन मिलाएको जीवन विकास अस्पतालमा जटिल शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

संगालोखबर 

















