
धनकुटा । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले नीतिगत समस्याका कारण वनमा रहेका काठको उपयोग गर्न समस्या भएको बताएका छन् । सोमबार सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ३१ औं स्थापना दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।
उनले प्रदेश सरकारमा वन सम्बन्धी कानुन, नीतिगत समस्याका कारण सामुदायिक वनमा रहेका काष्ठजन्य बस्तु उपभोग गर्न समस्या रहेको बताए । वनलाई उत्पादन र रोजगारीसँग जोड्नु पर्नेमा काठको बिक्री वितरण गर्न सहजता नभएकाले समस्या थपिएको उनको भनाइ छ ।
मन्त्रालयले नीतिगत कानुनको समस्याले गर्दा भने जस्तो काम गर्न नसकेको उनले उल्लेख गरे । प्रदेश सरकारले वनबाट उत्पादित काठको दररेट कायम गर्न कुरा उठाइरहेको समेत उनले बताए । यस्तै सरकारी भवन निर्माणका लागि फलामको सट्टा काठको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
कोशीमा अधिकतम अनिवार्य काठको उपयोग गर्नुपर्ने योजना बनाएको हुँदा आर्थिक पाटो बलियो हुने उनको भनाइ छ । वन क्षेत्रमा उत्पादन मुखी बोट बिरुवा रोप्न सामुदायिक वन उपभोक्तालाई आग्रह गर्दै मन्त्री पराजुलीले पर्यटकीय क्षेत्रमा कसरी पर्यटन आकर्षण गर्न सकिन्छ सोही अनुसार प्रदेश सरकारले काम गर्ने आश्वासन दिए ।
स्थानीय सरोकारवालाहरूले धनकुटाको छथर क्षेत्रमा जिल्लाकै ठूला सामुदायिक बन भएपनि आयआर्जनसँग जोड्न नसक्दा काष्ठजन्य बस्तु खेर गएको प्रति गुनासो व्यक्त गरे । वनमा धेरै प्रजातिका बोटविरुवा तथा जडीबुटी उत्पादन हुने हुँदा प्रदेश सरकारले आर्थिक उपार्जनका लागि बाटो खुल्ला गर्नुपर्ने वन उपभोक्ताहरूको माग छ ।
छथर पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले वनलाई पर्यटनसँग जोड्नु पर्ने उनीहरूले बताए । ‘वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त संगठन समृद्धिको आधार’ भन्ने मुल नाराका साथ छथर जोरपाटी गाउँपालिकाको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ धनकुटाले सामुदायिक वन सचेतना कार्यक्रममाको आयोजन गरी स्थापन दिवस मनाएको हो ।
यस्तै कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ धनकुटालाई विभिन्न विधामा योगदान गरेको छ जनालाई कदर पत्रले सम्मान गरिएको थियो ।

सन्तोष सुवेदी/संगालोखबर 

















