संगालोखबर


काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ का गोपालबहादुर बुढा विगत एक महिनाभन्दा बढी समयदेखि गम्भीर बिरामी आफ्ना १० महिने छोराको उपचार गराउन धनगढी गए । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखेर १२ दिन उपचार गरियो ।

त्यसपछि त्यहाँबाट डिस्चार्ज गरेर घर पठाइयो, तर केही दिन बित्न नपाउँदै रोग फेरि बल्झियो र अस्पताल दौडाउनुपर्यो । त्यसपछि निशर्ग अस्पतालमा आईसीयूमा राखेर तीन दिन उपचार गरियो । यसरी धनगढीका विभिन्न अस्पतालमा छोराको उपचार गराउँदा ऋण काढेको तीन लाखभन्दा बढी खर्च भयो । एकातिर ऋण काढेको पैसा सकियो भने अर्कातिर छोराको अवस्था झन् झन् खराब हुँदै गइरहेको थियो ।

Advertisement

छोराको अवस्था बिग्रँदै गएपछि गोपालबहादुरलाई डाक्टरहरूले काठमाडौं लगेर उपचार गर्ने सुझाव दिए । काठमाडौं आएपछि सुरुमा उनले छोराको उपचार गराउन कान्ति बाल अस्पताल लगे । तर त्यहाँ आईसीयूमा बेड खाली नभएका कारण दुई दिन त्यत्तिकै तड्पेर बस्नुपर्‍यो । केही दिन कुरेपछि बेड त पाए, तर आर्थिक अवस्था कमजोर भएका कारण त्यहाँ पनि उपचार गराउन नसक्ने अवस्था सिर्जना भयो ।

त्यसपछि गोपालबहादुरले बाजुराका नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य जनकराज गिरीलाई आफ्नो पीडा सुनाए । त्यो पीडा सुनेपछि गिरीले काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा नेपाली काँग्रेसका नेता सुनील शर्मालाई गोपालका छोराको उपचारमा सहयोग गरिदिन आग्रह गरे ।

गरिब तथा असहायको निरन्तर सेवा गर्दै आएका शर्मा सदाझैँ यसपटक पनि गोपालका छोराको निःशुल्क उपचार गर्न तयार भए र भक्तपुरको दुवाकोटमा रहेको केएमसी युनिट-२ मा ती अबोध बालकको उपचार सुरु भयो ।

अस्पताल पुर्‍याएपछि केएमसीका डाक्टरहरूको टोलीले उपचार सुरु गर्यो । अस्पताल पुग्दा बालकको अवस्था एकदमै नाजुक थियो । बच्चालाई निकै गाह्रो भइरहेको थियो । गोपाल भन्छन्, ‘सुरुको दिन त अस्पताल पुऱ्याउँदा छोराको उपचार नै हुँदैन जस्तो लागेको थियो । डाक्टरहरूले पनि बच्चालाई एकदमै गाह्रो भइरहेको छ भन्नुभयो । त्यसपछि डाक्टरहरूले छोरालाई आईसीयूमा राखेर उपचार सुरु गर्नुभयो । उपचार सुरु भएको केही समयपछि छोराको स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गयो ।’

बुढाको कमजोर आर्थिक अवस्था देखेपछि सुनील शर्माले उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च मात्रै नभई कुरुवाका लागि खानबस्नसमेत निःशुल्क व्यवस्था गरिदिएका थिए । गोपाल भन्छन्, ‘आफ्नो छोराको उपचारमा दिल खोलेर निस्वार्थ सहयोग गरेकोमा एकदमै खुसी लागेको छ । आर्थिक अवस्था कमजोर भएर तड्पिएका मजस्ता व्यक्तिहरूलाई निःशुल्क उपचार गरेर सुनील सरले एकदमै ठूलो गुन लगाउनुभएको छ ।’

ऋण गरेको पैसा पनि सकिएको र छोरा पनि बचाउन नसक्ने अवस्थामा पुगेका गोपालबहादुर अहिले स्वस्थ छोरा लिएर घर फर्कन पाएकोमा एकदमै हर्षित छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!