
धनकुटा । धनकुटामा सञ्चालित १८ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक धनकुटालाई ट्राईबेकरमार्फत ५-४ गोलअन्तरले पराजित गर्दै बेलबारीले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा बेलबारीका सोलमन किङ, शिशिर लेखे, विदेशी खेलाडी मुटिभ, विशाल थिङ र स्याम मुरमुरले गोल गर्न सफल भए भने बिबेक पौडेलले गरेको प्रहार गोल रक्षकले विफल तुल्याए । यता, आयोजक टिम धनकुटाका विवेक गुरुङ, विदेशी खेलाडीहरू फेमिर ओलायामी ताइव र प्रीसोले गोल गरे ।
धनकुटाका पृथ्वी चौधरी र राम वाजिले गरेको प्रहार गोलमा परिणत हुन सकेन । उपाधिसँगै बेलबारीले ६ लाख नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता धनकुटाले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ । विजेता टिम बेलबारीका विवेक पौडेलले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएर नगद ६ हजार पुरस्कार प्राप्त गरेका छन् ।
विक्रम संवत् २०५५ सालदेखि सञ्चालन थालिएको प्रतियोगिता केही वर्ष स्थगनपछि ०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रलाई बम प्रहार गरेको अभियोगमा वि.स. २०३५ मा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिदै आएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 
















