
धनकुटा । धनकुटा नगरपालिका-९ मुलघाट स्थित तमोर नदीमा मनसुन पूर्व विपद्जन्य घटनामा आधारित विपद् प्रतिकार्य संयुक्त अभ्यास गरिएको छ । आज भीमदल गण सल्लेरी ब्यारेक धनकुटाको आयोजनामा मनसुन पूर्व विपद् प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास गरिएको हो ।
वर्षातको मौसम सुरु भएसँगै बाढी र आगलागीका कारण कयौँले ज्यान गुमाउने गरेका छन् । सोही घटनालाई मध्यनजर गर्दै राहत तथा उद्धारमा ढिलाइ हुँदा पर्ने असर समेतलाई दृष्टिगत गरी विपद् पूर्वको तयारीस्वरूप संयुक्त प्रतिकार्य अभ्यास गरिएको छ ।

वर्षायाम सुरु भएसँगै धनकुटाका विभिन्न स्थानमा बाढीपहिरोबाट ठूलो क्षति हुने गरेको छ । हिउँदको समयमा आगलागीका घटनाले दुःख दिने गरेको छ । त्यसको सांकेतिक सचेतनामूलक सन्देश दिनका लागि विपद् व्यवस्थापन तथा पूर्व तयारी गतिविधि लक्षित संयुक्त अभ्यास गरिएको भीमदल गण सल्लेरी ब्यारेकले जनाएको छ ।
प्रतिकार्य अभ्यास सम्भावित बाढी, डुबान र आगलागीका घटना हुँदा अपनाइने सावधानी, उद्धार र जनचेतना जस्ता विषयमा केन्द्रित रहेर गरिएको छ । संयुक्त अभ्यास कार्यक्रमको समापन नम्बर २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले गरेका थिए ।

कार्यक्रममा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी, जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, रेडक्रस, जिल्ला अस्पतालका प्रतिनिधि, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरू सहभागि थिए ।


सन्तोष सुवेदी/संगालोखबर 
















