
विराटनगर । तमोर करिडोर अन्तर्गत तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । शुक्रबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले पाँचथरको आठराई त्रिवेणी गाउँपालिका-१ निघुरादिन र हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने पुल बगाएको हो ।
गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुका अनुसार करिब एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको थियो । बाढीले ट्रस संरचनासहित निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बगाएको छ ।
करिब आठ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुलको हालसम्म ४० देखि ४५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । पुल निर्माण सम्पन्न भएपछि ताप्लेजुङ र पाँचथरबीच यातायात आवागमन सहज हुने अपेक्षा गरिएको थियो ।
घटनापछि गाउँपालिकाको टोलीले निर्माणस्थल पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । एमएस सपना याक्थुङ जेभी ले २०७४ सालमा २२ करोड ५ लाख ७७ हजार ८ सय ९० रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता गरेर काम सुरु गरेको थियो ।


संगालोखबर 
















