
उदयपुर । उदयपुर सिमेन्ट उद्योगका श्रमिक आन्दोलित भएका छन् । १४ महिनादेखि तलब नपाएका श्रमिक तथा कर्मचारीहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालन हुँदै आएको उद्योगको अवस्थाबारे पछिल्ला दिनमा असन्तुष्टि तीव्र बनेको छ । नियमित उत्पादन ठप्पजस्तै भएपछि श्रमिकहरूको जीवनयापन संकटमा परेको भन्दै उनीहरूले तत्काल बक्यौता तलब भुक्तानी र सामाजिक सुरक्षा कोषको रकम निकासा गर्न सरकारसँग माग गरेका छन् ।
आज उद्योग परिसरको मुख्य गेटमै आयोजित पत्रकार सम्मेलनमार्फत मजदुर संघर्ष समितिले आफ्ना पीडा सार्वजनिक गर्दै उद्योग व्यवस्थापन, सम्बन्धित मन्त्रालय र सरकारी निकायहरूको उदासीनताप्रति कडा आपत्ति जनाएको छ । समितिका अनुसार १४ महिनासम्म तलब नपाउँदा श्रमिकहरूले दैनिक खर्च धान्न, ऋण तिर्न, स्वास्थ्य उपचार गर्न र छोराछोरीको पढाइ खर्च जुटाउन सकेका छैनन् ।
श्रमिकहरूले उद्योगले तलबबाटै कट्टा गरेको सञ्चय कोष, नागरिक लगानी कोष तथा बीमा रकमसमेत लामो समयदेखि सम्बन्धित निकायमा नपठाइएको आरोप लगाएका छन् । उनीहरूका अनुसार करिब ४५ महिनाको सञ्चय कोष रकम र ३५ महिनाको नागरिक लगानी कोष रकम हालसम्म जम्मा नभएको दाबी गरिएको छ ।
साथै, बीमा प्रिमियमका तीन किस्ता समेत भुक्तानी नहुँदा सामाजिक सुरक्षा प्रणाली नै कमजोर बनेको उनीहरूको भनाइ छ ।
आर्थिक संकटको असरले स्वास्थ्य उपचार गर्न नसकेका कारण केही श्रमिकहरू गम्भीर रोगको उपचारबाट वञ्चित भएको र हालसम्म ८ जना कर्मचारी तथा मजदुरको मृत्यु भइसकेको दाबी संघर्ष समितिले गरेको छ ।
त्यस्तै, २०७८ साल यता अनिवार्य अवकाशमा गएका १३२ जना कर्मचारी तथा मजदुरले पाउनुपर्ने सेवा-सुविधा पनि अझै उपलब्ध नगरिएको समितिको भनाइ छ ।
उनीहरूले १४ महिनाको तलब, ज्याला तत्काल भुक्तानी, सञ्चय कोष र नागरिक लगानी कोषको बक्यौता रकम निकासा, बीमा प्रिमियम चुक्ता, अवकाशप्राप्त कर्मचारीको सम्पूर्ण सेवा-सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
माग पूरा नभए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरिने समेत उनीहरूले बताएका छन् ।


संगालोखबर 
















