
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ डिहीटारस्थित तमोर करिडोर सडकमा टाटा विंगर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् ।
इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ज ३९४९ नम्बरको टाटा विंगर गाडी आज बिहान करिब ९ः३० बजे अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।
दुर्घटनामा परी मोरङको सुन्दरहरैँचा नगरपालिका-६ की ४० वर्षीया सवित्रा ढुंगेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडीभित्र च्यापिएकी उनी उद्धार गर्ने क्रममा मृत फेला परेकी हुन् ।
त्यस्तै गाडी चालक फाल्गुनन्द गाउँपालिका-१ का २८ वर्षीय तेजकुमार चेम्जोङ र फुङलिङ नगरपालिका-८ का २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















