
धनकुटा । धनकुटाको मुगाका करवीर राईले ६६ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्रिर्ण गरेका छन् । धरानको सगरमाथा डल्फिन कलेजबाट परीक्षा आवेदन फारम भरेका राईले वृद्ध अवस्थामा एसईई उत्तीर्ण गरेका हुन् ।
नाति नातिनीको उमेर समूहका विद्यार्थीसँगै परीक्षा दिएका करवीरको यो सफलताले शिक्षा हासिल गर्न उमेरले छेक्दैन भन्ने सन्देश पनि दिएको छ । २०४० सालमा एसएलसी परीक्षा दिएको भएपनि तीन विषय लागेर फेल भएपछि उनको पढाई रोकिएको थियो ।
त्यतिबेला पारिवारिक कारणले पढाईलाई निरन्तरता दिन नपाएको भएपनि अहिले वृद्ध अवस्थाको फुर्सदिलो समयमा पढ्न सुरु गरेको करवीर बताउँछन । उनी भन्छन्, ‘पहिले पारिवारिक अवस्थाले पढ्न पाइएन । अहिले बुढेसकालमा काम पनि छैन, फुर्सद छ । पढौँ न त भनेर पढ्न थालेको हु ।’
२०४९ सालमा तत्कालीन मुगा गाविसको उपाध्यक्षसमेत भइसकेका राई अब धनकुटा बजारमा प्लसटु पढ्ने सोचमा छन् ।


संगालोखबर 

















