
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सञ्चारमाध्यमलाई अंकुश लगाउने कुनै पनि काम नगर्ने बताएका छन् । आज विराटनगरमा पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले निजी र सरकारी भनेर कुनै पनि सञ्चार माध्यमलाई विभेद नगर्ने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश र संघीय सरकार कुनैले पनि निजी र सरकारी भनेर विभेद गर्नु नेपालको कानुन र संविधान विपरीत हुने उल्लेख गरे । निजी सञ्चार माध्यमलाई विज्ञापन नीतिमा संघीय सरकारले लिएको नीति सच्चिने आशा व्यक्त गर्दै यदि त्यस्तो नभए प्रदेश सरकारले नीति र आवश्यक कानुन बनाएर अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
‘हामी सञ्चार माध्यमलाई अंकुश लगाउने र संकुचन गर्ने कुनै पनि काम गर्दैनौं’, मुख्यमन्त्री कार्कीले भने, ‘निजी क्षेत्रलाई बन्देज लगाउने कुरा नेपालको संविधान विपरीत हुन्छ । प्रदेश सरकार चाँडै नै प्रादेशिक प्रतिष्ठान गठन गरेर पत्रकारको हितमा काम गर्ने तर्फ अग्रसर छ ।’
कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हरेक वर्ष अग्रज पत्रकारहरूलाई दिँदै आएको सम्मानमा कुनै कमी नआउने र पत्रकारितालाई अगाडि बढाउनका लागि प्रदेश सरकारले आगामी वर्षदेखि थप कार्यक्रम ल्याउने मुख्यमन्त्री कार्कीले बताए ।
२०७५ सालमा कार्की नै आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा पुरस्कार वितरण सुरु भएको थियो । त्यसयता हरेक वर्ष कोशी प्रदेश सरकारले पुरस्कार वितरण गर्दै आएको छ ।
कार्यक्रममा आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली पत्रकार महासंघ प्रदेशका अध्यक्ष भरतबहादुर खड्का मोरङकी अध्यक्ष सुशीला पाठक पुरस्कृत रेजिना गौतम र मन्त्रालयका सचिव आसमान तामाङले धारणा राखेका थिए ।

संगालोखबर 




















