संगालोखबर


झापा । डोजर आतंक बन्द गर्न माग गर्दै झापाको बिर्तामोडका सुकुम्बासी सडकमा उत्रिएका छन् । उनीहरू बसोबास गरेकै ठाउँको धनीपुर्जा पाउनुपर्ने माग गर्दै आजबाट आन्दोलनमा उत्रिएका हुन् ।

वर्षौँदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने बताउँदै उनीहरूले धनीपुर्जाको व्यवस्था गर्न माग गरेका हुन् । देशभर डोजर आतंक सुरु गरिएको बताउँदै आन्दोलित सुकुम्बासीहरूले नागरिक आवासको हकमाथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।

बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै भूमिहीन-सुकुम्बासी संयुक्त संघर्ष समितिले नगरपालिका क्षेत्रभित्रका घर-टहरा भत्काउने कार्य तुरुन्त रोक्न, वास्तविक सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन र भू-माफियालाई कारबाही गर्न माग गरेको छ ।

यस्तै डोजर आतंकका कारण ज्यान गुमाएकालाई सहिद घोषणा गरी उनीहरूको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत अघि सारेका छन् ।

बिर्तामोडमा मात्रै १ हजार ३५ भूमिहीन सुकुम्बासी र १ हजार ५२० अव्यवस्थित बसोवासीहरू रहेको तथ्य प्रस्तुत गर्दै ज्ञापनपत्रमा डोजर आतंकका कारण १७ वर्षीय रबिन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेको दुःखद घटना स्मरण गराइएको छ ।

संयोजक बिष्णुमाया विश्वकर्मा र सचिव रमेश मुर्मुद्वारा हस्ताक्षरित उक्त पत्रमा यी मागहरू यथाशीघ्र सम्बोधन नगरिए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!