
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा यही बैशाख १८ गतेदेखि १३ औं संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रारा फुटबल क्लबले बिहीबार राजारानीमा पत्रकार सम्मेलन गरेर वैशाख १८ देखि २२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमबीच प्रतिष्पर्धा हुने आयोजक रारा फुटबल क्लबका सचिव जीवन कटुवालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा आयोजक रारा फुटबल क्लब , सहलेस फुटबल क्लब सर्लाही, बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, आरआईएफसी काठमाडौं, केरावारी फुटबल क्लब मोरङ, धरान फुटबल क्लब सुनसरी, गाइघाट फुटबल क्लब उदयपुर र डाँडाबजार फुटबल क्लब धनकुटाबीच प्रतिष्पर्धा हुनेछ ।
रारा गोल्डकप, धनकुटाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता पनि हो । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलकिपर, उदयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई १०/१० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ७/७ हजार नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा चौबिसे गाउँपालिकाका उपाध्यक्ष टंकमायाँ पाङ्मी मगर, रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङ, चौबिसे खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर लिम्बू र चौबिसे ६ का वडाध्यक्ष आशिस चेम्जोङले प्रतियोगिता सफल बनाउन भूमिका निर्वाहका लागि सबैलाई आग्रह गरेका छन् ।

संगालोखबर 























