संगालोखबर

विराटनगर । विराटनगर बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण रोक्न विशेष अभियान चलाइने भएको छ । विराटनगर महानगरका मेयर नागेश कोइरालासहित सरोकारवालाको बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपास क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी, सर्वसाधारणलाई सचेत गराउने र त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने निर्णय गरेको छ । महानगरले सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै कडाइ गर्न लागेको हो ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अबदेखि पसलको सटर बाहिर कुनै पनि सामग्री राख्न पाइने छैन । निर्माण सामग्री सडकपेटीमा थुपार्न नपाइने, मोटरसाइकल ग्यारेजका सामान बाहिर राख्न निषेध गरिने तथा कवाडी व्यवसाय सञ्चालनका लागि न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाहीको प्रक्रिया पनि सँगसँगै अघि बढाइने भएको छ ।

फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप न्यूनीकरण र व्यवस्थित पार्किङको दीर्घकालीन समाधान खोज्न महानगरले सरसफाइ शाखाका प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा समिति पनि गठन गरिएको छ । समितिले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाह सुधारसम्बन्धी सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।

मेयर कोइरालाले व्यवस्थित, सफा र सुरक्षित सहर निर्माणका लागि निजी क्षेत्र, व्यवसायी र नागरिक सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!