संगालोखबर


विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोतीलाल योञ्जन तामाङलाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

विभागीय मूल्यमान्यता, आदेश निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

Advertisement

इन्स्पेक्टर तामाङले ‘अपरेसन ब्राउन’ अन्तर्गत भद्रपुर क्षेत्रमा लागूऔषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गर्दै चैत महिनाभर उल्लेखनीय सफलता हासिल गरेका थिए ।

उक्त अभियानअन्तर्गत लागूऔषध सम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूको साथबाट ३४६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर, नगद ३ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, भन्सार छलीका करिब १० लाख ४७ हजार रुपैयाँ बराबरका विभिन्न अवैध सामान पनि नियन्त्रणमा लिइएको थियो । सोही अवधिमा विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई समेत पक्राउ गर्न उनी नेतृत्वको प्रहरी सफल भएको थियो ।

इन्स्पेक्टर तामाङले जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको वडा प्रहरी कार्यालय भद्रपुरको भवन, ब्यारेक तथा कार्यालय पुनर्स्थापनामा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए ।

कार्यसम्पादनको समग्र मूल्याङ्कनका आधारमा तामाङलाई कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले चैत्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!