संगालोखबर


काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) सिनामंगलले मस्तिष्कसम्बन्धी जटिल समस्याको सफल उपचार गरेको छ । अस्पतालले ५२ वर्षीया एक महिलाको सफल उपचार गरेको हो ।

केएमसीका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलका अनुसार ती महिलालाई तीव्र टाउको दुखाइपछि बेहोस अवस्थामा राति अस्पताल ल्याइएको थियो । प्रारम्भिक परीक्षणका क्रममा गरिएको सिटी स्क्यानमा मस्तिष्कमा रगत जमेको देखिएको थियो ।

Advertisement

थप जाँचका लागि गरिएको सिटी एन्जियोग्राफीमा मस्तिष्कका विभिन्न भागमा तीनवटा एन्युरिज्म अर्थात रक्तनली फुलेको अवस्था देखिएको थियो, जसमा एउटा फुटिसकेको थियो ।

‘बिरामीको अवस्था गम्भीर भएकाले तत्काल क्याथल्याबमा लगेर फुटेको एन्युरिज्मलाई ‘कोइलिङ’ प्रविधिबाट उपचार गरियो’, डा. पौडेलले भने । बिरामीको अवस्था स्थिर भएको केही समयपछि फेरि बाँकी दुईवटा बेलुन अर्थात एन्युरिज्मको विशेष प्रकारको फ्लो डाइभर्टर हालेर उपचार सुरु गरिएको थियो ।

दुईवटा बेलुनमध्ये एउटा आँखामा रगत आपूर्ति गर्ने नशाबाट आएको थियो । त्यसैले त्यसको खुल्ला शल्यक्रिया गर्न मिल्दैनथ्यो, किनकि त्यसो गर्दा आँखाको ज्योति गुम्नसक्थ्यो । त्यसपछि डाक्टरहरूले फ्लो डाइभर्टर नामक विशेष प्रकारको स्टेन्ट प्रयोग गरेर नयाँ नशा निर्माण गरे ।

यो उपचारपछि रगत आपुर्ति सहज हुँदै गयो र महिलाले नयाँ जीवन पाइन् । उपचारपछि अहिले बिरामीको स्वास्थ्य अवस्था एकदमै राम्रो भएको छ । चेतनाको स्तर पनि निकै राम्रो हुँदै गएपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

यो प्रविधि नेपालमा नभित्रिँदासम्म मष्तिष्कमा रगत जमेको अवस्थामा खुल्ला शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । तर यस्ता धेरै अवस्थामा खुल्ला शल्यक्रिया गर्न धेरै गाह्रो हुन्थ्यो । त्यसका लागि कि त देशबाहिर सिंगापुर, नयाँदिल्ली वा अमेरिका लैजानुपर्ने अवस्था थियो । कि ज्यान जोखिममा पारेर खुल्ला शल्यक्रिया गर्नु पर्दथ्यो ।

तर अहिले केएमसीले भित्र्याएको न्युरोइन्टरभेन्सनजस्तो आधुनिक प्रविधिपछि यस्ता रोगको उपचार एकदमै सहज भएको छ । यो प्रविधि अनुसार कुनै ठूलो चिरफारबिना नै कोइलिङ वा स्टेन्टबाट उपचार गरिन्छ ।

नेपाली काँग्रेसका लोकप्रिय युवानेता डा. सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेजमा अहिले विशेष सुविधायुक्त न्युरो केन्द्रित क्याथल्याब छ । साथै उपचार गर्ने डाक्टरहरू पनि विदेशबाट यही विषयमा विशेषज्ञता हासिल गरेर आएका छन् ।

त्यसैले मष्तिष्क, मष्तिष्कका रक्तनली र मस्तिष्कघात सम्बन्धी सम्पूर्ण उपचार सेवा केएमसीमा उपलब्ध छ । सुनसरीको गढी गाउँपालिका-१ निवासी अशोककुमार चौधरीकी ५२ वर्षीया पत्नीमा देखिएको उक्त समस्या समयमै पहिचान गरी ‘कोइलिङ’ तथा ‘फ्लो डाइभर्टर’ प्रविधिबाट सफल उपचार गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुँदै गर्दा बिरामी तथा उनका आफन्तले उपचारमा संलग्न चिकित्सक, केएमसी अस्पताल तथा स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!