सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाकाे बिहीबारे हटियामा नयाँ वर्षकाे अवसरमा आजबाट चाैथाे काेप्चे फेस्टिभल सुरु भएकाे छ ।

Advertisement

‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ कोप्चे पुनर्जागरण अभियानकाे आयोजनामा फेस्टिभल सुरू भएकाे हाे ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले कोप्चे क्षेत्रको आर्थिक पुनरुत्थानका लागि स्थानीय नेवारी र आठपहरिया जातिको कला, संस्कृति र मौलिक परिकारहरू महत्वपूर्ण आधार भएको बताए ।

उनले यस क्षेत्रमा पर्यटकको आगमन बढ्दा समग्र नगरकै पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले स्थानीय होमस्टे र सांस्कृतिक जागरणका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सामाजिक विकासका लागि युवाहरूको प्रयास संस्थाको अगुवाइमा २०७९ सालदेखि सुरु भएको यो फेस्टिभलमा यस वर्ष २० वटा स्टलहरू राखिएका छन् ।

जहाँ स्थानीय हस्तकला, ऐतिहासिक पुराना तस्बिर र लोपोन्मुख वस्तुहरूको प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् ।

महोत्सवको अर्को विशेष पक्ष भनेको धनकुटा–५ को कोप्चे र काठमाडौँ महानगरपालिका–५ को हाडीगाउँ बीच भएको द्विपक्षीय सम्झौता हो । जसले कला, संस्कृति र पर्यटन विकासका नीतिगत विषयमा सहकार्य गर्ने मार्ग प्रशस्त गरेको छ ।

हाडीगाउँका वडा अध्यक्ष बिरेन्द्र प्रजापतिले यस सम्झौतामार्फत दुई ऐतिहासिक क्षेत्रबीच सम्बन्ध प्रगाढ बनाउँदै पर्यटन प्रवर्द्धनका लागि सरकारसँग समन्वय गर्ने पुलको काम गर्ने बताए ।

वैशाख २ गतेसम्म चल्ने यस फेस्टिभलले कोप्चे क्षेत्रको ऐतिहासिक पहिचान जोगाउँदै स्थानीयको जीवनस्तर उकास्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजक समितिका संयोजक तथा कार्यवहाक अध्यक्ष रिदम श्रेष्ठका अनुसार महाेत्सवमा स्थानीय उत्पादन तथा हस्तकलाका सामग्रीसमेत समावेश गरिएकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!