
धनकुटा । डिभिजन वन कार्यालय धनकुटाले जिल्लाका तीनवटै सुरक्षा निकायलाई डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ ।
कोशी प्रदेश वन निर्देशनालयको सहयोगमा वन डढेलो व्यवस्थापन कार्यक्रम अन्तर्गत नेपाली सेनाको भीमदल गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्मलाई सामग्री उपलब्ध गराइएको हो ।
डिभिजनल वन अधिकृत सञ्जीवराज ढकालका अनुसार आगो नियन्त्रणका लागि प्रयोग हुने फायर स्वाटर, रेक, एक्स, फायर बुट, फेस मास्क, हेलमेट, पञ्जा, जम्प बुट र ब्याकप्याक वाटर पम्प लगायतका उपकरण सुरक्षा निकायलाई प्रदान गरिएको छ ।
हस्तान्तरण गरिएका सामग्रीहरूको कुल मूल्य करिब ५ लाख ७५ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ । एक कार्यक्रमका बीच भीमदल गणका गणपति प्रमुख सेनानी गणेश थापा, धनकुटाका प्रहरी प्रमुख एसपी शरद कुमार थापा क्षेत्री र सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देललाई सामग्री हस्तान्तरण गरिएको थियो ।
धनकुटाको अरुण र तमोर तटीय क्षेत्र वन डढेलोको उच्च जोखिममा रहेकाले पूर्वतयारी स्वरूप यी उपकरणहरू वितरण गरिएको अधिकृत ढकालले जानकारी दिए ।
जिल्लाको कुल भू-भागको करिब ४२ प्रतिशत हिस्सा वनले ढाकेको छ, जसमध्ये १२ प्रतिशत क्षेत्र डढेलोको उच्च जोखिममा रहेको तथ्याङ्क छ । प्रत्येक वर्ष वन डढेलोका कारण जिल्लामा करिब १५ करोड रुपैयाँ बराबरको वन स्रोत र प्राकृतिक सम्पदा नष्ट हुने गरेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 























