संगालोखबर


धनकुटा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले प्रदेशभित्रका पर्यटकीय क्षेत्रको थप पहिचान गरी आवश्यक पूर्वाधार विकासका कामलाई तीव्रता दिने बताएका छन् ।

धनकुटाको भेडेटारस्थित नाम्जेमा बुधबारदेखि सुरु भएको पाँच दिने ‘पर्यटन पत्रकारिता तालिम’ को उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय धरानको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

Advertisement

मन्त्री पराजुलीले प्रदेश सरकारले विगतमा पर्यटन क्षेत्रमा जुन ढंगले प्रभावकारी काम गर्नुपर्ने थियो, त्यो हुन नसकेको स्वीकार गर्दै अबका दिनमा ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पर्यटकीय स्थलको विकासका लागि निजी क्षेत्रका लगानीकर्ताहरूसँग आवश्यक समन्वय गरिने र पर्यटनलाई प्रदेशको गौरवको योजनाका रूपमा अगाडि बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।

पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको भौतिक निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिने बताउँदै उनले प्रदेशमा रहेका धार्मिक स्थलहरूको प्रचारप्रसारमा अझै जोड दिनुपर्ने औंल्याए ।

कार्यक्रममा पर्यटन कार्यालय धरानका प्रमुख भीषण राईले पत्रकारिता समाचार सम्प्रेषण गर्ने माध्यम मात्र नभई सम्बन्धित निकायलाई प्रश्न गर्ने थलो पनि भएको बताए । पछिल्लो समय मोबाइल पत्रकारिता प्रभावकारी बन्दै गएको चर्चा गर्दै उनले यसका माध्यमबाट पर्यटकीय स्थलहरूको स्थलगत रिपोर्टिङ र ‘न्युज ब्रेक’ गर्न सहज हुने उल्लेख गरे ।

पत्रकारितालाई पर्यटनसँग जोडेर तराईदेखि हिमालसम्मको प्रचारप्रसारमा सहयोग र्पुयाउन आग्रह गर्दै उनले पर्यटन कार्यालयका तर्फबाट सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

‘कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ सुरु भएको उक्त तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाका ५० जनाभन्दा बढी सञ्चारकर्मीहरूको सहभागिता छ । नाम्जेमा सञ्चालित यो तालिम चैत २८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!