सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आगामी वैशाख २ गतेदेखि सञ्चालन हुन लागेको ‘राष्ट्रिय आर्थिक गणना २०८२’ का लागि धनकुटामा तयारी तीव्र पारिएको छ । आर्थिक गणना कार्यालय, धनकुटाले जिल्लाका विभिन्न सरोकारवालाहरूसँग सचेतना गोष्ठी आयोजना गरी गणनाको विधि र प्रक्रियाबारे जानकारी गराएको हो ।

जिल्ला आर्थिक गणना अधिकारी खगेन्द्र पौडेलका अनुसार यो गणना वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय अभियानका रूपमा रहेको यस गणनामा २१ वटा विभिन्न शीर्षकमा व्यावसायिक तथा आर्थिक तथ्याङ्कहरू संकलन गरिनेछ ।

Advertisement

गणनाका लागि ३ जना सुपरीवेक्षक र २२ जना गणक नियुक्त भइसकेका छन् । नियुक्त जनशक्तिलाई चैत २६ गतेदेखि ३० गतेसम्म पाँच दिने विशेष तालिम दिएर कार्यक्षेत्रमा परिचालन गरिने पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी एवं आर्थिक गणना समन्वय समितिका संयोजक विनोद कुमार खड्काले यो गणना आर्थिक नीति निर्माणका लागि महत्त्वपूर्ण भएको बताए । उनले गणनाका क्रममा आइपर्ने कुनै पनि समस्या समाधानका लागि प्रशासन तयार रहेको भन्दै अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षसँग आग्रह गरे ।

त्यस्तै जिल्ला समन्वय समिति धनकुटाकी उप-प्रमुख सावित्रा राईले गणकहरू घर-घर र व्यवसायमा पुग्दा डराउनु पर्ने अवस्था नरहेको स्पष्ट पारिन् । उनले विकासको मेरुदण्ड मानिने आर्थिक तथ्याङ्क सही हुनुपर्नेमा जोड दिँदै गणकहरूलाई सत्य विवरण उपलब्ध गराएर सहयोग गर्न सम्पूर्ण जिल्लावासीलाई आह्वान गरिन् ।

गोष्ठीमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, होटल तथा किराना व्यवसायीका प्रतिनिधिहरूका साथै जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!