
धनकुटा । धनकुटाका दलित महिला अगुवाहरूले दलित महिलाहरू अब घरको चौघेराभित्र मात्र सीमित नभई समाज र उद्यमशीलतामा सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
धनकुटा नगरपालिकाको सहयोग तथा दलित महिला संघ (फेडो) धनकुटाको आयोजनामा आयोजित चार दिने ‘दलित महिला सशक्तीकरण कार्यक्रम’ मा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा दलित महिलाहरू घरबाहिर ननिस्किएकै कारण पछि परेकाले अब उनीहरूलाई सीप र क्षमताका आधारमा स्वरोजगार बनाउनुपर्ने धारणा राखिएको थियो । दलित महिला संघकी सचिव कोपिला शंखरले धेरै दलित महिलाहरू अन्याय र पीडा सहेर बस्ने तर बाहिर आएर बोल्न नसक्ने भएकाले झन् पछि परेको बताइन् ।
उनले समाजमा अझै पनि महिलाहरू पुरुषको भर पर्ने परिपाटी रहेको उल्लेख गर्दै आगामी दिनमा विभिन्न सीपमूलक तालिममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइन् ।
दलित महिला संघकी अध्यक्ष लक्ष्मी परियारले अधिकार प्राप्तिका लागि महिलाहरू स्वयं जागरुक हुनुपर्ने धारणा राखिन् । उनले दलित महिलाका निम्ति संविधानमा भएका व्यवस्था र अधिकारबारे सबैलाई जानकारी हुनुपर्ने बताउँदै अधिकार प्राप्तिका लागि सशक्त रूपमा अगाडि बढ्न आग्रह गरिन् ।
दलित समुदायका मुद्दाहरू उठ्ने गरे पनि निर्णायक तहमा पुग्न नदिई बीचमै सामसुम पार्ने प्रवृत्ति रहेको भन्दै उनले अब आवाजविहीनहरूले खुलेर बोल्न ढिला गर्न नहुने बताइन् ।
कार्यक्रमका सहभागीहरूले समाजमा दलित महिलाहरू हिंसा र बलात्कार जस्ता घटनाको सिकार भइरहेको भए पनि डर र संकोचका कारण त्यस्ता घटनाहरू गुपचुप रहने गरेको बताए ।
अन्याय विरुद्ध आवाज नउठाउँदा पीडित झन् पीडामा पर्ने भएकाले अब नडकमकाई र नडराई नेतृत्वदायी भूमिकामा अगाडि बढ्ने समय आएको उनीहरूको भनाइ थियो । दलित महिलाहरूलाई उद्यमशीलतामा जोड्न र सामाजिक गतिविधिमा सक्रिय बनाउन गैरदलित समुदायको पनि उत्तिकै सहयोग आवश्यक रहेको अध्यक्ष परियारले बताइन् ।


सन्तोष सुवेदी/संगालोखबर 






















