सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा बसोबास गर्ने सीमान्तकृत आठपहरिया समुदायले सञ्चालन गरेको स्याउले सिप्तिङ सामुदायिक होमस्टेले नयाँ पहिचान बनाउन थालेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि बसोबासको स्थान मात्र नभई समुदायको आत्मगौरव, अतिथि सत्कार र प्राकृतिक सौन्दर्यको जीवन्त प्रदर्शनीसँगै होमस्टेले नयाँ पहिचान बनाउँदै गएको हो ।

Advertisement

धनकुटा नगरपालिका-३ स्थित स्याउलेमा सञ्चालित होमस्टेले लोपोन्मुख आठपहरिया आदिवासी समुदायको सांस्कृतिक धरोहरलाई पर्यटनसँग जोडेको छ । यहाँ आउने पर्यटकहरूलाई मौलिक तथा स्थानीय खानाका परिकार तथा संस्कृतिले मोहित तुल्याउँछ । होमस्टेमा आउने पर्यटकलाई रातो टीका र फूलको मालाले स्वागत गर्ने गरिएको छ ।

पर्यटकहरूलाई आठपहरिया समुदायको इतिहास, संस्कार र संस्कृतिबारे जानकारी दिइने गरिएको होमस्टेका अध्यक्ष हिराबहादुर राईले जानकारी दिए । यस्तै होमस्टेबाट कृषि, संस्कृति र प्रकृतिको अनुभव लिन पाइने उनको भनाइ छ ।

सिजनमा पर्यटकहरूलाई सुन्तला बगैँचामा सुन्तला टिपेर खाने प्याकेज समेत राखिएको छ । यस्तै मह उत्पादन र स्थानीय विभिन्न बीउबारे जानकारी गराइँदै आएको उनले बताए । पर्यटकलाई लक्षित गरेर सांस्कृतिक नृत्य र ढोल नाच समेत देखाइने गरिएको छ ।

आधुनिकताले नयाँ पुस्तालाई परिमार्जित गरेकाले पुराना कला संस्कृति जोगाउन होमस्टे लागिपरिरहेको अध्यक्ष राईले जानकारी दिए । २०७८ को जनगणना अनुसार आठपहरियाको जनसङ्ख्या ५ हजार ८७८ छ । आठपहरिया समुदायको उद्गमस्थल समेत धनकुटा हो ।

आठपहरिया समुदायहरू होमस्टेमार्फत आफ्नो भाषा, कला, संस्कृति, गित, नृत्य र परम्परालाई जीवित राख्न लागि परेका छन् । स्थानीय युवाहरू पर्यटन व्यवस्थापन, गाइडिङ र पाहुना सेवामा दक्ष बन्दै गएकासँगै थप सहज भएको छ ।

होमस्टे स्थापनामा गर्न इन्टिग्रेटेड सेन्टर फर माउन्टेन डेभलपमेन्ट (आइसिमोड) र कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन) को मुख्य भूमिका रहेका छ ।

यस्तै क्षमता विकास र सांस्कृतिक प्रचारमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीईपी) ले सहयोग गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!