
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-२ मा अवस्थित ध्वजे डाँडा पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । सांस्कृतिक तथा पर्यटकीय स्थलको विकाससँगै ध्वजे डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।
समुद्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको यस स्थानमा भइरहने मौसम परिवर्तनले पर्यटकलाई थप आकर्षित गरेको छ । गाउँपालिकाले पर्यटकलाई लक्षित गर्दै विभिन्न संरचना निर्माण गरेको छ । कोशी राजमार्गबाट डाँडासम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेटवाल निर्माण गरिएको छ ।
केहीवर्ष अघिसम्म चिहानले भरिएको डाँडाले अहिले ध्वजे डाँडा पर्यटकीय स्थलको रूपमा पहिचान बनाएको छ । यहाँबाट सूर्याेदय र अरुण उपत्यका तथा कञ्चनजंघा, मकालु, कुम्भकर्ण सहितका हिमालको अवलोकन गर्न सकिन्छ ।

यो क्षेत्र तरकारी उत्पादनको पकेट क्षेत्र पनि हो । सिजन अनुसार उत्पादन हुने तरकारीले कृषि पर्यटनको सम्भावना समेत बोकेको छ । पूर्वाधार निर्माणको काम तीब्र पारिएसँगै पर्यटकको आकर्षण पनि ह्वात्तै बढेको छ ।
डाँडामा लिम्बू जातिको सिलाम साक्मा र मगर जातिको खुर्पेटोको प्रतिमा निर्माण गरिएको छ । जोरपाटी बजार नजिकै रहेको यो पार्कलाई बहुसांस्कृतिक पार्कको रूपमा विकास गरिएको र पर्यटकहरूको सहजताको लागि भौतिक पूर्वाधारका कामहरू भइरहेको छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष दीपक गुरुङले बताए ।
आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको पुल निर्माण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।





तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 



















