
धनकुटा । धनकुटाका समाजसेवी दोर्ण प्रसाद गुरागाईंको सहयोगमा निबुवा खोलामा होम पाइप लगाइएको छ । धनकुटा नगरपालिका-१ र ३ को सिमानामा रहेको खोलामा गुरागाईंले आवश्यक सामाग्री खरिद तथा ढुवानी गरिदिएपछि होम पाइप लगाइएको हो ।
जिल्ला सदरमुकाम जोड्ने धनकुटा बिहीबारे हाट-मालबासे-मधुगंंगा सडक खण्डमा निबुवा खोला छ । खोलामा करिब ३९ फुट लम्बाइ र बीचभाग ८ फुट र छेउछेउमा तेह्र फुट ढलान गरि होम पाइप लगाइएको छ । गुरागाईंले खोलामा होम पाइप लगाउन रड, सिमेन्ट, दुईवटा होम पाइप र आवश्यक सामाग्री खरिद तथा ढुवानी गरिदिएका हुन् ।
एक सय बढी स्थानीयले श्रमदानमार्फत वाल उठाएर खोलामा होम पाइप लगाउने काम गरेका छन् । गुरागाईंले पूर्खाैली जन्मथलो रहेको आफ्नो ठाउँमा केही सेवा गरौँ भन्ने उद्देश्यले खोलामा होम पाइप लगाउन सहयोग गरेको बताए ।
सडकको ट्रयाक खोलेको १६ वर्ष बढी भएपनि खोलामा होम पाइप तथा पुल नहुँदा स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । खोला वारपार गर्नका लागि बाँसको पुल निर्माण गरिएको थियो ।
अब खोलामा होम पाइप राखिएपछि वारपार गर्न सहज भएको स्थानीय बताउँछन् । गुरागाईंले खरीद र ढुवानी गरेको सामानको रकम खुलाउन चाहेनन् । यो सडकले धनकुटा नगरपालिका-२ भिरगाउँको सिंगो वडालाई जोडेको छ ।

धनकुटा नगरपालिकाले उक्त खोलामा होम पाइप लगाउन करिब २० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको थियो । तर होम पाइप लगाउन आवश्यक पर्ने सम्पूर्ण सामाग्री खरिद र ढुवानी गुरागाईंले गरिदिएपछि बाँकी सबै काम स्थानीयहरूले श्रमदानमार्फत गरेका छन् ।
टेम्पो चालक नेत्र बहादुर घिमिरेले वर्षायाममा खोला वारपार गर्न समस्या हुने गरेको भएपनि अब सहज हुने बताए । ‘होम पाइप लगाएपछि सवारीसाधनसँगै पैदलयात्रीलाई पनि सहज भएको छ’, उनले भने, ‘बर्खाको समयमा पनि अब समस्या भोग्न पर्दैन ।’
केहीवर्ष अघि यही खोला तर्ने क्रममा बाढीले बगाएर ३ जनाको ज्यान गएको थियो । स्थानीय डम्बर राना मगरले खोलामा होम पाइप लगाउन आफूहरू श्रमदानमा जुटेको बताए ।
‘हप्तामा एक दिन श्रमदानका लागि समय निकाल्ने गरेका छौँ’, उनले भने, ‘खोलामा होम पाइप लगाउन पनि सबैको साथ सहयोग रह्यो ।’ खोलामा होम पाइप लगाउन सय जना बढी स्थानीय खटिएका थिए ।
यो सडक धार्मिक स्थल मधुगंगा धाम जाने भएकाले सरकारले पनि महत्वका साथ हेर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । यो सडक हुँदै दैनिक करिब दुईदर्जन बढी टेम्पो र आधा दर्जन बढी साना सवारीसाधान संचालन हुँदै आएका छन् । होम पाइप लगाएपछि करिब ६ सय बढी घरपरिवार लाभान्वित भएका छन् ।

सन्तोष सुवेदी/संगालोखबर 



















