
विराटनगर । पूर्वाधार विकास कार्यालय धनकुटाले सडक हेरालु खटाएको छ । हिले-छिन्ताङ, बिहीबारे हटिया-कर्मिटार-छथर र गुठिटार-बाघखोर-छिरिङ गरी तीन सडक खण्डमा हेरालु खटाएको हो ।
निर्माण भइसकेका यी सडक नियमित हेरचाह गर्न तीन महिनाका लागि हेरालु नियुक्त गरिएको कार्यालयले जनाएको छ । सडक निर्माण भएपश्चात् नियमित हेरचाह नहुँदा पछिल्लो समय थप बिग्रदै गएका थिए ।
हेरालु राखेसँगै सडकको संरक्षण र दिगोपनमा टेवा पुग्ने कार्यालयको विश्वास छ । तीन वटै सडकमा २/२ जना हेरालु राखिएको छ । कार्य सम्पादनका आधारमा उनीहरूको अवधि थप हुनसक्ने कार्यालयले जनाएको छ ।
उनीहरूले सडको नियमित मर्मत, नाली सफाइ, पहिरो पन्छाउने, अतिक्रमण रोक्ने र आवतजावत सहज बनाउने काम गर्नेछन् । वर्षा याममा हुने सामान्य पहिरोले नाली पुरिँदा पानी र लेदो सडकमा पस्ने, बाढीका कारण सडक अवरुद्ध हुने जस्ता समस्याको समाधान हुने पूर्वाधार विकास कार्यालय धनकुटाका प्रमुख उत्तम नारायण खरेलले बताए ।
उनका अनुसार हिले-छिन्ताङ सडकको करिब १० किलोमिटर, बिहीबारे हटिया-कर्मिटार-छथर सडकको करिब २१ किलोमिटर र गुठिटार-बाघखोर-छिरिङ सडकको करिब १० किलोमिटर क्षेत्रमा उनीहरूले काम गर्ने छन् ।
यी सडकहरू धनकुटा सदरमुकाम हुँदै तराई जोड्ने ग्रामीण क्षेत्रका मुख्य मार्ग हुन् । जसले स्थानीयलाई आवत-जावतमा सहज हुनका साथै स्थानीय उत्पादन निर्यातमा समेत ठूलो भूमिका खेलेको पाइन्छ ।
पछिल्लो समय सवारीसाधनको चाप बढ्दै गएपछि सडकको दिगोपनामा असर परेको थियो । अब सडक हेरालु राखिएसँगै दीर्घकालीन रूपमा सडकको अवस्था सुधार हुने र यात्रुहरूले सहज आवत-जावत गर्न सक्ने विश्वास गरिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 



















