
धनकुटा । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोर अन्तरगत मोटरेवल पुल निर्माणमा ढिलासुस्ती भएको छ । बजेट अभावसँगै ठेकेदारको ढिलासुस्तीका कारण करिडोरमा पर्ने ८ वटा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको हो ।
सडक कालोपत्रे भएर सवारीसाधान सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोक खण्डमा पर्ने ११० किलोमिटर सडकमध्ये हालसम्म करिब ७३ किलोमिटर कालोपत्र भइसकेको छ ।
तर निर्माणाधीन मोटरेवल पुल बनाउने काम सुस्त गतिमा भएकै कारण लामो समयदेखि यात्रुहरूले सास्ती खेप्न बाध्य छन् । बर्खाको समयमा खोलाहरूमा बाढी आउँदा सवारीसाधनहरू बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।
तमोर कोरिडोर अन्तरगत हेवा, लारिप्पा र बगुवा खोलामा पुल निर्माण कार्य सुरु नै भएको छैन । तमोर करिडोर पुल सेक्टर कार्यालय धरानका इन्जिनियर नवीन शाहका अनुसार कम्बुवा खोलामा २५, लखुवा र रघुवा खोलामा २७/२७, नावा खोलामा ५० र छरुवा खोलामा पुल निर्माणको काम ७५ प्रतिशत सकिएको छ ।
पुल निर्माणका लागि सम्झौता अनुसार सरकारले बजेट नपठाउँदा तथा निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माण सम्पन्न हुन नसकेको उनले बताए । एउटा पुल निर्माणका लागि करिब १० करोड रुपैयाँसम्म लागत लाग्ने बताइएको छ ।

निर्माणाधीन पुलको काम समयमा सम्पन्न नहुँदा बाढीले बगाउने गरेको र पुनः सुरुबाटै काम गर्नुपर्ने अवस्था सिर्जना भइरहेको स्थानीय महेन्द्र न्यौपानेले बताए । उनका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण स्थानीयले सास्ती खेप्नुपर्ने अवस्था छ ।
जसबाट तराईबाट तमोर करिडोर हँदै ताप्लेजुङसम्म जाने यात्रु समस्यामा पर्ने गरेका छन् । विशेषगरी पाँचथर-धनकुटा सीमावर्ती नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव घटबढ हुने गरेको छ । जसकारण सवारीसाधनको नियमित आवागमन प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
तमोर करिडोरमा निर्माणधीन पुल ३ वटा प्याकेजमा ठेक्का लगाइएको छ । जसमा छरुवा खोलाको पुल निर्माणका लागि लुम्बिनी रौता खानी जेभिले भ्याट र पिएस सहित १७ करोड २३ लाख ७९ हजार ५ सय ४० रुपैयाँमा ठेक्का पाएको छ ।

२०७८ फागुन ६ गते भएको सम्झौता अनुसार आगामी असार मसान्तमा म्याद सकिने तमोर करिडोर पुल सेक्टर कार्यालय धरानले जनाएको छ ।
यस्तै नावा, लखुवा, लारिप्पा र हेवा खोलाका पुल निर्माण एउटा प्याकेजमा ठेक्का लागेको छ । उक्त पुल निर्माणका लागि शर्मा सगुन जेभिले भ्याट र पिएस सहित ३७ करोड २१ लाख ५३ हजार ६ सय ४० रुपैयाँमा ठेक्का पाएको छ । आगामी फागुन मसान्तसम्म रहेको निर्माणको सम्झौता २०७८ फागुन १३ गते भएको थियो ।
यता बगुवा, कम्बुवा र रघुवा खोलाका पुल निर्माणको लागि कुमार श्रेष्ठ स्वामीनारायण आशिर्वाद जेभिले २२ करोड ५२ लाख ७५ हजार ७ सय ८० रुपैयाँमा ठेक्का पाएको छ । आगामी बैशाख १९ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहेको पुल निर्माणको सम्झौता २०७८ फागुन १६ गते भएको इन्जिनियर शाहले जानकारी दिए ।
कोरिडोरमा निर्माण हुने सबैभन्दा लामो छरुवा खोला पुलको लम्बाइ १ सय ६५ मिटर छ भने नावा खोला र लखुवा खोलामा निर्माणाधीन पुलको लम्बाइ १ सय ५० मिटर छ । यता हेवा खोला, बघुवा खोला र खम्बुवा खोलामा ४०÷४० मिटर र लोरिपा खोला पुलको लम्बाई २० मिटर छ ।

सन्तोष सुवेदी/संगालोखबर 



















